दोलखामा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु, ३ बेपत्ता, ३ घाइते


काठमाडौं, साउन १९ । दोलखामा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु भएको छ भने तीन जना बेपत्ता र तीन जना घाइते भएका छन् ।
गौरीशंकर गाउँपालिका वडा नम्बर ७ मार्बु टोपाटारमा बिहीबार बेलुकी ९ बजे खसेको पहिरोले टोपबहादुर थामीको घर पुरिँदा उनका १५ महिनाका छोरा प्रिन्स थामीको मृत्यु भएको हो । उक्त पहिरोमा परेरे ४९ वर्षीय हरिलाल श्रेष्ठ, ६० वर्षीय कृष्णबहादुर मगर र ५० वर्षीया देवी माया मगर बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
यस्तै टोपाटारका ४० वर्षीय यज्ञबहादुर थामी, उनकी श्रीमती ३९ वर्षीय धनमाया थामी र बुहारी २२ वर्षीया सिता थामी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि सिंगटी पठाइएको छ । बेपत्ताको खोजी गर्न ९ जना नेपाल प्रहरी, २५ जना नेपाली सेना र १२ जना सशस्त्र प्रहरी खटाइएको छ ।
पहिरोले दुई घर पुरिएको छ । पहिरोले ६ वटा घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।























