मधेश प्रदेश, मुख्य समाचार, समाचार

वडा प्रहरी कार्यालय बिर्ताका घुमुवा यादवको आतंक

रंजित चौरसिया
२०८० साउन १७ | बिहान ०८:०४ बजे

वीरगंज १७ साउन । वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी सहायक निरीक्षक (घुमुवा) रामसोग्रत यादवका कारण सार्वसाधारण आतंकित बन्न पुगेको गुनासो बढन थालेको छ ।

वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिदुर प्रसाद सिवाकोटीले सर्वसाधारणको शान्ति सुरक्षा र अमन चैनका लागि क्यूआरटी घुमुवाको रुपमा यादवको नेतृत्वमा टोली खटाए पनि उनले आफ्नो पदको दुरुपयोग गर्दै सर्वासाधारणलाई आतंकित पार्ने काममा अगाडि बढाएको स्थानियहरुले गुनासो गरेका छन् ।

घुमुवाको रुपमा खटेका प्रहरी सहायक निरीक्षक यादवले सिमावर्ती क्षेत्र छपकैया, ईनर्वा, नगवा लगायतका स्थानहरुमा पुगी तस्करहरुबाट महिनवारी असुली गरिरहेको स्थानियहरुले गुनासो गरेका छन् । बिगत केही समय देखि बन्द रहेको तस्करी अहिले खुल्न सुरु भएको छ । वीरगंजको नगवाबाट प्रत्येक दिन करिब ३ ट्रक गोलभेडा, गोभी, रक्सी, कबाडी लगायतका सामग्रीहरु भारततर्फ तस्करी हुदै आएको छ, भने भारतबाट हाडवेर्यर, कपडा, किराना सामग्री, भैसी पाडा लगायतका सामग्रीहरु तस्करीको माध्यमबाट नेपाल आईरहेको छ ।

वीरगंजको नगवा, ईनर्वा, भन्सार, छपकैयाबाट सर्वसाधारणहरुले आफ्नो घर खर्चको लागि एक बोरा चामल तथा घरायसी सामग्रीहरु ल्याउदा बिना पैसाको कसैलाई आउन नदिने गरेको स्थानियहरुले गुनासो गरेका छन् । उनले भारतको रक्सौल लगायतको बजारहरुबाट घरायसी सामग्री लिएर आउदा सर्वसाधारणहरुलाई रोकी चेकजाँचको बहानामा समातेर लग्ने, थुनी दिने लगायतका घुर्कीहरु देखाउदै रु. ५० देखि १ हजार सम्म लिने गरेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

त्यहि नाकाबाट तस्करी गर्ने तस्करहरुसँग साठगाठ गरी लाखौंको सामग्रीहरु ल्याउदा कुनै रोकटोक नगर्ने गरेको जनाईएको छ । तस्करहरु सँग मासिक रुपमै लिने गरेको कारण तस्करहरुलाई छुट दिएको एक तस्करले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।
घुमुवाको रुपमा खटेका प्रहरी सहायक निरीक्षक यादव बिगत केही वर्ष पहिला वडा प्रहरी कार्यालय बिर्तामै कार्यरत्त रहेका थिए ।

उनको सरुवा भए पश्चात पुनः घुमफिर गरी ठूलाबडाको आर्शिवादले वडा प्रहरी कार्यालय बिर्तामै आउन सफल भएका छन् । बिगत लामो समय देखि वडा प्रहरी कार्यालय बिर्तामा क्यूआरटी टोली प्रहरी हवलदारको नेतृत्वमा रहेको थियो तर प्रहरी सहायक निरीक्षक यादवले आफु राम्रो आम्दानी गरेर दिने प्रतिबद्धता जनाएपछि उनलाई क्यूआरटीको जिम्मा दिईएको प्रहरी स्रोतको दाबी रहेको छ ।

कमेन्टहरु