लुम्बिनी प्रदेश, समाचार

बुटवलमा हरियाली र उज्यालो नगर अभियान सुरु

नवलपुर टुडे
२०८० साउन १६ | मध्यान्ह ०७:०४ बजे

बुटवल । बुटवललाई सफा सुन्दर र हरियाली शहरको रुपमा स्थापित गर्न बुटवल उपमहानगरपालिकाले बृहत् सरसफाइ तथा वृक्षारोपण अभियान सुरु गरेको छ। साउन १५ देखि सुरु भएको विशेष अभियान ४५ दिनसम्म चल्ने छ।

उपमहानगरका प्रमुख खेलराज पाण्डेयले बुटवलको योगी कुटी मुख्य सडक क्षेत्रमा वृक्षारोपण र सरसफाइ गरी अभियानको शुभारम्भ गरेका थिए। मंगलबार बुटवलका नगरप्रमुख उपप्रमुख, वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधिसँगै स्थानीयले सामूहिक रुपमा सडक क्षेत्रको सरसफाइ गर्नुका साथै वृक्षारोपण गरे। 

1690895907 IMG 8365

अभियान अन्तरगत नगरभित्रको मुख्य सडकको डिभाइडरमा बिरुवा रोप्ने, सडक क्षेत्रको नियमित सरसफाइ गर्ने, भित्री सडक, चोक चौराह, खोला, नालाका किनार सफा गर्नुका साथै वृक्षारोपण गरी हरियाली र सुन्दर नगर बनाउन थालिएको हो।

1690895903 IMG 8272

बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गरी पर्यटकीय बिश्रामस्थलको रुपमा विकास गर्न चालु आर्थिक बर्षमै हरियाली र उज्यालो बुटवल अभियान सुरु गरिएको उपमहानगर प्रमुख खेलराज पाण्डेयले बताए। जस अन्तरगत मुख्य सडक क्षेत्रमा उच्च क्षमताका बत्ती जडान गर्ने, मुख्य सडक क्षेत्रलाई हरियाली बनाउने र भित्री सडकहरूलाई समेत उज्यालो, हरियाली र सुन्दर बनाइने नगरप्रमुख पाण्डेयले बताए।

‘यो वर्ष बृहत् सरसफाइ तथा हरियाली अभियान सुरु गरेका छौं, उज्यालो बुटवल अभियान अन्तर्गत मुख्य तथा सहायक सडक र सार्वजनिक स्थलहरुमा उच्च क्षमताका बत्तीहरु जडान गरी रात्रि कालिन बजार सञ्चालनको तयारीलाई पनि सँगसँगै लैजादैछौं’ नगरप्रमुख पाण्डेयले भने। उपमहानगरले बुटवललाई हरियाली र उज्यालो शहर बनाउन चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गरेको छ। नगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ का लागि उज्यालो बुटवल अन्तरगत विद्युतीकरण, सडक बत्ती जडान तथा सौन्दर्यीकरणकालागि १ करोड ९० लाख विनियोजन गरेको छ। त्यस्तै हरियाली नगर बनाउन एक घर तीन रुख कार्यक्रमकालागि १२ लाख रुपैयाँ विनियोजन गरिएको छ। रात्रिकालीन बजार संचालनकालागि नगरपालिकाले यो वर्ष १० लाख बजेट विनियोजन गरेको छ।

1690895910 IMG 8239

बुटवलको ऐतिहासिक, व्यापारिक, आर्थिक महत्त्वलाई जोगाउँदै पर्यटकीय बीश्रामस्थलको रुपमा विकास गर्ने मुख्य लक्ष्य सहित सरसफाई तथा हरियाली अभियान र उज्यालो बुटवल अभियान संचालन गरिएको नगरप्रमुख पाण्डेयले बताए। अभियानलाई सफल बनाउन नगरवासी, टोल विकास संस्था, राजनीतिक दल, सामाजिक संघसंस्था तथा सरोकारवाला निकायहरूलाई साथमा लिएर अगाडी बढेको उनले बताए।

अभियान अन्तरगत मुख्य सडक क्षेत्रमा सघन सरसफाइ गरी विभिन्न प्रजातीका फूल र हरियाली दिने बिरुवा रोपिने छ। मुख्य सडकको डिभाइडरमा बेगम बेलीका १ हजार बिरुवा, क्यालियान्ड्रा, हेमिलिया, करबिर, इक्जोराकाका ३/३ सय बिरुवा रोपिने उपप्रमुख सावित्रादेवि अर्यालले बताइन। अन्य क्षेत्रमा गुलमोहरका १ सय बिरुवा रोप्नुका साथै विभिन्न प्रजातीका फुल र फलफूलका बिरुवा रोपेर अभियानलाई सफल बनाउने उपप्रमुख अर्यालले बताइन।

नगरपालिकाले अभियानमा सरिक हुन जनप्रतिनिधिहरू सँगै कर्मचारी, नगरवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सामाजिक संघसंस्थाहरु, राजनीतिक दल, स्वयंसेवी संस्थाहरूलाई आह्वान गरेको छ। साउन १५ गते बुटवल योगी कुटी चोकदेखि सुरु गरिएको विशेष अभियानमा पहिलो दिन होराइजन चोकसम्म, मंगलबार र बुधबार होराइजन चोकदेखि भुडकी चोक सम्म १८ र १९ गते भुड्की चोकदेखि ट्राफिक चोक सम्म गरी सडक क्षेत्र नै निर्धारण गरी बृक्षा रोपण र सरसफाई अभियान संचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए।

शहरको सौन्दर्यीकरणकालागि मुख्य सडक क्षेत्रमा मात्रै नभई सहायक र भित्री सडक, सार्वजनिक स्थल बस्ती सबैतिर विशेष अभियान सँगै नियमित सरसफाइ तथा हरियाली प्रवर्द्धनका कार्यक्रमहरू पनि नियमित चलिरहेको प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए।

कमेन्टहरु