लुम्बिनी प्रदेशले पारित गर्यो स्वास्थ्य संस्था स्थापनासम्बन्धी विधेयक


दाङ। लुम्बिनी प्रदेश सभाले स्वास्थ्य संस्था स्थापनासम्वन्धी बिधेयक पारित गरेको छ। शुक्रबार सम्पन्न प्रदेश सभा दोस्रो अधिवेशनको २३ औं बैठकले स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन २०७६ लाई संशाेधन गर्न बनेको विधेयक पारित गरेको हो।
सामाजिक विकास समितिको तर्फबाट अघिल्लो बैठकमा प्रतिवेदनसहितको विधेयक सभामा प्रस्तुत गरिएको थियो। प्रदेश सभा बैठकमा स्वास्थ्यमन्त्री राजु खनालले स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन २०७६, लाई संशाेधन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
सभामुख तुलाराम घर्तीले विधेयकलाई सभामा निर्णयार्थ प्रस्तुत गर्दै विधेयक सर्वसम्मतले पारित भएको घोषणा गरे। आगामी २४ औं बैठक सूचना टाँस गरेर जानकारी दिने गरी शुक्रबारको बैठक सम्पन्न भएको छ। शुक्रबारको बैठकमा बिशेष समयमा बोल्दै प्रदेश सभा सदस्यहरुले कर्मचारी विधेयकमाथि गम्भीरतापूर्वक छलफल गरेर टुंगोमा पुर्याउनुपर्ने बताएका छन् ।























