ओखलढुंगामा पहिरोले दुई घर भत्किए, दुईजना घाइते


घर माथिबाट पहिरो खस्दा सोमबहादुर खत्रीको साँढे ३ तले पक्की घरको बीच तलाको पछाडिको भाग भत्किएको छ भने पेशल खत्रीको ३ तले पक्की घरको पछाडि पट्टीको भाग भत्किएको छ । पहिरोमा परी खत्रीको घरमा कोठा भाडामा बस्दै आएका दुईजना सामान्य घाइते भएका छन् । पहिरोले १ करोड बढिको क्षति गरेको प्रहरीको अनुमान छ । बस्तीमाथि पहिरो खस्ने अरु संभावना रहेकाले अन्य तीन घर जोखिममा छन् । पहिरोले कोलबहादुर खत्रीको कुखुरा फर्म समेत पुरेको छ ।
उक्त फर्ममा १ लाख ५० हजार बढीको क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो खसेर रमाइलोडाँडा जिसस सडक खण्डमा समेत क्षति पुगेको छ। पहिरो पन्छाएर सवारी सुचारु गराइए पनि पहिरोको जोखिम बढेको छ । पहिरोको जोखिममा परेका ३ परिवार विस्थापित भएका छन् । उनीहरुलाई अन्यत्र बस्ने व्यवस्था मिलाइएको प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।
आइतबार रातिदेखि परेको अविर वर्षका कारण ओखलढुंगाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् भने पहिरोको चपेटामा रहेका बस्तीहरुमा उच्च जोखिम भएको छ ।


















