बुटवलमा बहुतल्ले पार्किङ भवन निर्माणको तयारी, नगर विकास कोष लगानी गर्न तयार


बुटवल । बुटवलमा पार्किङ व्यवस्थापनका लागि नयाँ उपाय अवलम्बन गरिएको छ । नगर क्षेत्रभित्र पार्किङ भवनका लागि बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच सम्झौता भएको छ । बुटवलमा बढ्दो सवारी साधनको चाप र पार्किङ व्यवस्थित गर्न बहुतल्ले भवन निर्माण गर्न उपमहानगरपालिका र नगर विकास कोषबीच लगानीका लागि आज सम्झौता भएको हो । पार्किङ भवन निर्माणका लागि मेयर खेलराज पाण्डेय र कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त आयोजनामा ३० करोड ४० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । भवन निर्माणपछि बुटवलको मुख्य बजार क्षेत्रको पार्किङ सोही भवनमा गरिने र मुख्य सडक क्षेत्रको पार्किङ हट्ने नगर प्रमुख पाण्डेयले बताए । यसबाट बुटवलका सडकमा गाडी पार्किङ गर्नुपर्ने बाध्यता हट्ने र यसले बुटवललाई थप व्यवस्थित शहरका रुपमा स्थापित गर्ने प्रमुख पाण्डेयको दाबी छ ।
पार्किङ भवन बनेपछि घरबाहिर सडकमा गाडी राख्नेहरुले पनि निश्चित शुल्क तिरेर भवनभित्रै गाडी राख्न सक्ने छन् । यसबाट मुख्य सडक र भित्री सडकमा हुने पार्किङको समस्या पनि हट्ने मेयरको भनाई छ । बुटवल ९ स्थित लुम्बिनी बस टर्मिनल परिसरमा निर्माण हुने आधुनिक बहुतल्ले पार्किङ भवन निर्माणमा ७० प्रतिशत लगानी नगर विकास कोषको हुनेछ । बाँकी ३० प्रतिशत बुटवल उपमहानगरपालिकाले लगानी गर्ने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । निर्माणको निम्ति ठेक्का प्रक्रियामा जाने प्रशासकीय अधिकृत पन्थीले बताए ।
गत असोज १५ गते पार्किङ भवन निर्माणका लागि परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीसँग सम्झौता भएको र प्रतिवेदन पेश गरेपछि लगानीका लागि नगर विकास कोषसँग सम्झौता गरिएको हो । लगानीको टुंगो लागिसकेकाले अब बाँकी प्रक्रिया पूरा गरी निर्माणको निम्ति ठेक्का प्रक्रियामा जाने प्रशासकीय अधिकृत पन्थीले बताए ।
सात तल्लो भवनमा एकसाथ दुई सय वटा हलुका सवारी पार्किङ गर्न सकिने छ । सबैभन्दा तल्लो तलामा पुर्याएपछि आफैँ स्वचालित मेशिनले खाली भएको स्थानमा गाडी लगेर राखिने छ । गाडी लिन आएपछि दिइएको कोडअनुसार पुनः गाडी भुईं तलामा आउने उपमहानगरपालिकाले जनाएको छ ।























