लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने


बुटवल । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ । चार कोरोना विशेष अस्पतालमा यी जनशक्ति अस्थायी रूपमा भर्ना गर्न लागिएको हो । अघिल्लो वर्ष महामारीका बेला ४ सय जनशक्ति करारमा भर्ना गरिएको थियो । कोरोना संक्रमण घटेपछि उनीहरुको करार नवीकरण गरिएको थिएन । मन्त्रिपरिषद् बैठकले अस्थायी दरबन्दी थपसम्बन्धी निर्णय गरेको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा १ सय ८९ दरबन्दी थपिँदै छन् । त्यस्तै बेलझुन्डीस्थित राप्ती प्रादेशिक कोरोना विशेष अस्पतालमा १ सय ७१, भेरी अस्पताल नेपालगन्जमा १ सय ५२ र भैरहवाको भीम अस्पतालमा ७१ दरबन्दी थप्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले नवलपुर टुडेलाई जानकारी दिनुभएको छ ।
प्रदेश सरकारले यसअघि अस्पतालमा आईसीयू बेड विस्तार गर्न पौने २ करोड रुपैयाँ बिनियोजन गरेको थियो । उक्त बजेटबाट बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा ३६ वटा एचडीयू बेड थप गरिएको छ । सरकारले कोभिड नियन्त्रण तथा उपचार कोषमा १० करोड थप गरेको छ । कोषमार्फत २० करोड खर्च भइसकेको छ । अस्पतालका बिरामीको उपचार, उपकरण, औषधि, स्वास्थ्यकर्मीको जोखिम भत्ता यसैमार्फत व्यवस्थापन हुने गरेको छ ।
निजी अस्पतालमा हुने उपचारको शुल्कसमेत सरकारले तिरिदिने व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको उपचार शुल्कमा एकरुपता ल्याउदै उपचार खर्च बेहोर्ने निर्णय गरेको हो । अक्सिजनसहितको एक बेडको प्रतिदिन ३ हजार ५ सय, आईसीयू एचडीयूसहितको एक बेडको ७ हजार र आइसियु भेन्टिलेटरसहितको एकदिन एक बेडको १५ हजार शुल्क तोकिएको छ । सरकारले यस अनुसारको शुल्क निर्धारण गरी तिरिदिने व्यवस्था गरेकाले त्यसभन्दा धेरै शुल्क लिन नपाइने मन्त्रालयले जनाएको छ ।























