माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो


काठमाडौ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन मंगलबार फिर्ता लिएको छ । आज बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ताको निर्णय गरेको हो ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले नवलपुर टुडेलाई जानकारी दिनुभयो । उहाँले बुधबार बिहानै समर्थन फिर्ताको पत्र बुझाउने बताउनुभयो ।
समर्थन फिर्ता लिँदा प्रधानमन्त्री ओलीले पुन: संसद विघटन गर्ने भन्दै बाध्यात्मक अवस्थामा समर्थन कायम राख्नुपरेको माओवादीको जिकिर थियो ।
सरकारलाई दिएको समर्थन कायमै राख्दा आलोचना खेपिरहेको माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २७ गते विश्वासको मत लिने तयारी गरेपछि समर्थन फिर्ताको निर्णय गरेको हो ।
नेता पोखरेलले विश्वासको मत लिने प्रधानमन्त्री ओलीको निर्णयलाई संसद विघटन गर्ने षड्यन्त्र भन्नुभएको छ । ‘२७ गतेको सन्दर्भमा षड्यन्तमूलक छ भन्ने हाम्रो बुझाइ हो । हामी त्यस्तो षड्यन्त्र रोक्ने प्रयास गर्छौँ’, उहाँले भन्नुभयो।























