मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशभर बहिष्कार गर्ने चार दलको निर्णय


बुटवल । लुम्बिनी प्रदेशका बहुमत सांसदहरूले मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशभर बहिष्कार गर्ने निर्णय गरेका छन् । अल्पमतमा रहेका व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गरिएका शंकर पोखरेललाई मुख्यमन्त्रीका रूपमा अस्वीकार र बहिस्कार गर्ने निर्णय गरेका हुन् ।
उनीहरूले आफूहरू बहुमतसहित भौतिक रूपमा उपस्थित सांसदहरूले मुख्यमन्त्रीको नियुक्ति खारेज, शपथग्रहण स्थगित तथा बहुमत प्राप्त कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग राख्दै प्रदेश प्रमुख समक्ष निवेदन दर्ता गराएकोमा बल प्रयोग गरेर मुख्यमन्त्रीकै कार्यालय पुगेर शपथ खुवाएको प्रति आपत्तिसमेत प्रकट गरेका छन् ।
पोखरेलविरुद्धको गठबन्धनले सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै अल्पमतका नेता शंकर पोखरेललाइ मुख्यमन्त्री नियुक्ति गरेको र स्वेच्छाचारी कदम चालेको भन्दै प्रदेश प्रमुख धर्मानाथ यादवलाई बर्खास्त गर्न समेत माग गरेका छन् ।
पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले अल्पमतमा रहेका मुख्यमन्त्रीलाई कुनै पनि अर्थमा स्वीकार गर्न नसकिने बताए । उनले प्रदेशभर अल्पमतका मुख्यमन्त्रीलाई बहिस्कार गरिने बताउँदै अविश्वासको प्रस्तावको निष्कर्षका लागि बिशेष अधिवेशनको माग समेत गरे ।
लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएका दृघनारायण पाण्डेलाई राष्ट्रिय सभा उम्मेद्वार बनाउन सहमत भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।























