नेपालमा ५५० पत्रकारलाई कोरोना, सात जनाको मृत्यु


काठमाडौं । देशभर पाँच सय ५० पत्रकारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ भने सात जनाको मृत्यु भएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले सोमबार विज्ञप्ती निकाल्दै सङ्क्रमणको दोस्रो लहरसंँगै सङ्क्रमितमध्ये सात पत्रकारको मृत्यु भएको जानकारी दिएका छन् । सङ्क्रमितमध्ये २० पत्रकार अस्पतालमा उपचार गरिरहेको जनाएको छ ।
त्यस्तै, उपचाररत पत्रकारमध्ये दुई जना आईसीयूमा रहेको महासंघले जनाएको छ । कोरोना सङ्क्रमण भई उपचारको आवश्यकता भएका पत्रकारका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउन महासंघले सरकारसंँग माग गरेको छ ।
विज्ञप्तिमा संवेदनशील घडीमा अनेक कठिनाइ भए पनि कार्यस्थलमा खटिने पत्रकारलाई अझ बढी गम्भीर र सचेत रहन आग्रह गरिएको छ । ‘कतिपय शाखामा अक्सिजनसहितको आइसोलेशनको व्यवस्था गरिएको छ । यो विषम परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपत्कालीन टोली नै बनाएर काम गर्न निर्देशन गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सोहीअनुसार सहभागिता जनाउन सबै प्रदेश समिति र शाखासहित पत्रकारलाई महासंघ अनुरोध गर्दछ।’ महासंघले कोरोना सङ्क्रमणको चुनौतीपूर्ण अवस्थामा कार्यस्थलमा खटिइरहेका पत्रकारका लागि सुलभ तरिकाले पिसिआर परीक्षण लगायत स्वास्थ्य र सुरक्षा सामग्री व्यवस्था गर्न सरकार संँग माग गरेको छ।























