भोलीदेखि कास्कीमा सार्वजनिक सवारी पनि बन्द

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञालाई कडा बनाउँदै भोलि वैशाख २१ गते देखि सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाएको छ ।
कास्की प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आइतबार जारी गर्नुभएको आदेशमा नयाँ भेरियन्ट सहितको कोभिड–१९ सङक्रमण तीव्ररूपमा फैरिहेको भन्दै सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र हिँडडुल नगर्न भनिएको छ ।
वैशाख २१ गते बिहान ५:०० बजेदेखि वैशाख ३१ गते रातको १२ः०० बजेसम्मका लागि तोकिएको आदेशमा अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधन बाहेकका यात्रुबाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन र सर्बसाधरणलाई हिड्दुलमा रोक लगाइएको छ ।
सबै किसिमका शैक्षिक संस्थामा भौतिक उपस्थितिमा गरिने पठनपाठन तथा परीक्षा सञ्चालन नगराउन आदेशमा उल्लेख छ । औषधि एवं स्वास्थ्य सामग्रीका पसल भने २४ सै घण्टा खुल्न सकिने प्रशासनले जनाएको छ । (रासस)























