अलोकतान्त्रिक, असंवैधानिक र अनैतिक प्रवृत्ति भन्दै देउवा र प्रचण्डले गरे भत्सर्ना


काठमाडौं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा भएका राजनीतिक घटनाक्रमलाई अलोकतान्त्रिक र असंवैधानिक प्रवृत्ति भएको बताउँदै निन्दा गरेको छ ।
आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले प्रेस विज्ञप्ति जारी गरी लुम्बिनी प्रदेशमा भएको समग्र घटनाक्रमलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको जनाएका छन्। ‘संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको म कडा निन्दा र भत्सर्ना गर्दछु,’ देउवाले भनेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई पुनः नियुक्ति गर्ने कार्य अनैतिक र असंवैधानिक भएको बताएका छन् ।
प्रदेश प्रमुख धर्मनाथ यादवले आइतबार पोखरेललाई मुख्यमन्त्रीको शपथ खुवाएका छन् । उनी अल्पमतमा हुँदा पनि मुख्यमन्त्री नियुक्त गर्नु हास्यास्पद भएको प्रचण्डले बिज्ञप्तीमा भनेका छन ।
नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा र राजमो लगायतका दलले वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितिमा संसदीय मुल्य मान्यता विपरीतको ब्यवहार प्रस्तुत हुनु लज्जास्पद र आपत्तिजनक भएको भन्दै लुम्बिनी प्रदेशका सांसदले प्रदेश प्रमुख विरुद्ध नाराबाजी गरेका थिए ।
पुनः मुख्यमन्त्री नियुक्तको निन्दनीयमा मुख्यमन्त्री शंखर पोखरेलसँग बहुमत नरहेको जनाउँदै कांग्रेस, माओवादी र जसपाले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख यादवलाई बुझाएका थिए ।























