मधेश प्रदेश

पर्सागढीको बजेटमा ५०/५० प्रतिशतको भागबण्डामा एन विपरीत कार्यक्रममा २ करोड १७ लाख बढी खर्चेर लाखौं/करोडौं भ्रष्टचार

रंजित चौरसिया
२०८० असार २० | मध्यान्ह ०८:०३ बजे

रंजित चौरसिया

वीरगंज २० असार । पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा कमिसनको सेटिङ्गमा नियम विपरित कार्यक्रम संचालन खर्च देखाई लाखौं/करोड रुपैयाँ भ्रष्टाचार भएको पाईएको छ । सो नगरपालिकाका तत्कालिन भ्रष्ट प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव र लेखा प्रमुख श्याम नारायण भगत मालीले आर्थिक वर्ष २०७८/७९ मा विभिन्न गैर सरकारी संस्थाहरुबाट कार्यक्रम संचालन, खरिद कार्य लागयतको काम गराएको देखाई २ करोड १७ लाख बढी खर्चेर लाखौं÷करोड रुपैयाँ भ्रष्टाचार गरेको पाईएको हो ।

सार्वजनिक खरिद नियमावली २०६४, को नियम ९९(१) ऐनको दफा ५६ बमोजिम गैर सरकारी संस्थाहरुबाट काम गराउनको लागि त्यस्तो कामको आवश्यकता, किसिम, समयावधी, कामको गुणस्तर, जनशक्ति, कार्य सञ्चालन विधि सहितको कार्य क्षेत्रगत शर्त र लाग्ने रकमको मोटामोटी अनुमान तयार गर्नु पर्ने व्यवस्था छ । तर अबैध आर्थिक लाभ लिन तत्कालिन निमित अधिकृत यादव र लेखा प्रमुख मालीले विद्यमान ऐन कानुन र प्रक्रिया लगायतको वास्ता नै नगरि गैर सरकारी संस्थाहरुमार्फत ५० प्रतिशत बढी कमिसनको सेटिङ्गमा विभिन्न कार्यक्रम, खरिद कार्य लगायतको काम गराएको देखाई २ करोड १७ लाख बढी खर्चेर लाखौं/करोड रुपैयाँ भ्रष्टाचार गरेको स्थानीय बासिन्दाको आरोप छ ।

आवश्यकता नभएको कार्यक्रममा नियम विपरित २ करोड भन्दा बढी खर्च अनियमित रहेको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनले पनि पुष्टि गरेको छ । यसले समेत गैर सरकारी संस्थाहरुसंगको ५०/५० प्रतिशतको कमिसनको भागबण्डमा आवश्यकता नै नभएको नियम विपरित र अधिकांश कार्यक्रम कागज मै गरि लाखौं÷करोड रुपैयाँ भ्रष्टाचार गरिएको स्थानीय बासिन्दाको आरोपलाई मलेपको कार्यालयले पनि पुष्टि गरेको देखिन्छ ।

गैर सरकारी संस्थाहरुमार्फत कार्यक्रम संचालन वा काम गर्दा लागत अनुमान तयार, मौजुदा सूचिमा दर्ता, राष्ट्रियस्तर/स्थानीयस्तरका दैनिक समाचार पत्रमा सूचना प्रकाशन गरि प्रस्ताव मांग लगायतका प्रक्रिया पुरा गरेर मात्रै कार्यक्रम संचालन वा काम गर्नुपर्ने कानुनी व्यवस्था छ । तर तत्कालिन अधिकृत यादव र लेखा प्रमुख मालीले सो आर्थिक वर्षमा विभिन्न गैर सरकारी संस्थाहरुसंग कार्यक्रम संचालन वा काम गरे पनि त्यस्तो कुनै प्रक्रिया नै पुरा नगरेको मलेपको कार्यालयले जनाएको छ ।

गैर सरकारी संस्थाहरुबाट गराईएको कामको प्राविधिक मुल्याङकन, प्रतिफल तथा अनुगमन प्रतिवेदन पनि तयार गर्नुपर्ने कानुनी व्यवस्था छ । तर अधिकृत यादव र लेखा प्रमुख मालीले आवश्यकता प्रक्रिया तथा कागजात र खरिद बिधि बेगर सोझै सम्झौता गरि विभिन्न ४५ वटा गैर सरकरी संस्थाहरुबाट काम गराई २ करोड १७ लाख ८९ हजार भुक्तानी देखाई लाखौं÷करोड रुपैयाँ भ्रष्टाचार गरेका छन् । जुन अरोपलाई मलेपको प्रतिवेदनले पनि पुष्टि गरेको देखिन्छ ।

नक्कली बिल बिजकबाट २२ लाख भन्दा बढी भुक्तानी

भ्रष्ट अधिकृत यादव र लेखा प्रमुख मालीले सो आर्थिक वर्षमा समाज कल्याण प्रतिष्ठान नेपाल बारा संग बृक्षारोपण तथा वातावरण संरक्षण कार्ययोजना तयारी, समाजको लागि मानव अधिकार र विकास संस्था संग सार्वजनिक सुनुवाई कार्यक्रम र परिवर्तनशिल समाज बारा संग पोषण स्वास्थ्य तालिम तथा सामग्री वितरण कार्यक्रम गरि मुल्य अभिबृद्धि कर सहित २२ लाख २३ हजार ८८२ रुपैयाँ भुक्तानी देखाएका छन् ।

तर ती गैरसरकारी संस्थाहरुबाट पेश भएको मुल्य अभिबृद्धि कर बिजक परीक्षण गर्दा मुल्य अभिबृद्धि करमा दर्ता नभएको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ । तर फर्जी/नक्कली बिल बनाएर सो संस्था मुल्य अभिबृद्धि करमा दर्ता रहेको देखाई सो कार्यक्रम वापत २ लाख २९ हजार बढी रुपैयाँ मुल्य अभिबृद्धि कर सहित १९ लाख ९४ हजार गरि २२ लाख भन्दा बढी रुपैयाँ नक्कली बिलमार्फत भुक्तानी भएको छ । यसले समेत भ्रष्टाचार भएको घाम जतिकै छर्लङ्ग हुन्छ ।

भ्रष्ट अधिकृत यादव र लेखा प्रमुख मालीले लाखौं÷करोड भ्रष्टाचार गरि दिन दुगुना रात चौगुना मोटाउँदै आए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पति शुद्धिकरण विभाग लगायतका नियमकारी निकायले छानबिन गरि कारबाही प्रक्रिया अगाडी नबढाउँदा पर्सागढीबासीहरु दाँतले औला टोक्न बाँध्य भएका छन् ।

कमेन्टहरु