तिनाउ नदीले पार गर्यो खतराको तह

नवलपुर टुडे
२०८० असार १९ | बिहान ०८:०३ बजे

बुटवल, असार १९ । रूपन्देहीमा तिनाउ नदीले खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
रूपन्देही आसपास क्षेत्रमा भारी वर्षा मापन गरिएको छ। अहिले जल सतह ७.०४ मिटर रहेको महाशाखाले बताएको छ। पछिल्लो तीन घन्टा स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, दाङ र आसपास अति भारी वर्षा भएको पनि महाशाखाले बताएको छ ।
उक्त स्थानका खहरे खोलाहरूमा आकस्मिक बाढी आउने सम्भावना औंल्याइएको छ। त्यस्तै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको बताइएको छ।
त्यस स्थानमा दिउँसो १ बजेसम्म भारी वर्षाकै सम्भावना रहेको पनि महाशाखाले बताएको छ। पाल्पाको तानसेन स्टेसनमा पछिल्लो २४ घन्टामा १ सय २६.६ मिलिमिटर वर्षा मापन गरिएको छ।























