लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा मंगलबार बजेट पारित गर्ने तयारी, एमालेले अबरोध गर्ने

नवलपुर टुडे
२०८० असार १८ | मध्यान्ह ०८:०३ बजे

बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभामा भोलि (मंगलबार) पनि विरोध जारी राख्ने भएको छ ।

सरकारले प्रदेशका निर्देशानालयहरुको खारेजीको निर्णय फिर्ता नलिएसम्म प्रदेशसभामा विरोध जारी राख्ने एमालेले जनाएको हो । एमालेले लुम्बिनी प्रदेशका प्रमुख सचेतक तलसी प्रसाद चौधरीले आफूहरुका माग सम्बोधन गर्न सरकारले अहिलेसम्म वार्ता र छलफल नगरेको भन्दै मंगलबार पनि विरोध जारी राख्ने बताए । उनले भने,’सरकारले हाम्रा मागको बेवास्ता गरेको छ । हाम्रा माग पुरा नभएकाले भोलि पनि संसद्  विरोध गर्नेछौँ ।’  

तर लुम्बिनी प्रदेशमा सत्ता पक्षले एमालेलाई पेलेर लगेका छन् । एमालेलाई बाहिर राखेर सत्ता पक्षले बजेटमाथि बोलेर छलफल सकाएका छन् । भोलि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । सत्तापक्ष नेपाली कांग्रेसका प्रमुख सचेतक जन्म जय तिमिल्सेनाले एमालेका मागहरू सम्बोधन गर्न मुख्यमन्त्री र सत्तारुढ दलका नेताहरू गम्भीर भएर एमालेलाई मिलाउन लागिरहेको बताए ।  

मंगलबार बजेट पास हुने बताउँदै उनले एमालेले उठाएको निर्देशनालयको खारेज भन्ने शब्दलाई मिलाउने विषयमा छलफल भएको बताए । उनले सरकारले व्ययभार कम गर्न निर्देशनालय हटाउने भनिए पनि सबै कर्मचारी हटाउने भन्ने नभएको बताए ।  

कमेन्टहरु