सियारी गाउँपालिका अध्यक्षको घरमा आफ्नै चालक विस्फोट गराउने योजनाकार


बुटवल । रूपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थनेश्वर घिमिरेको घरमा विष्फोटक पदार्थ राखेको आरोपमा चालकसहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुपन्देही कोटहीमाई गाउँपालिका- ४ का २४ वर्षीय सुरज थारु, सियारी गाउँपालिका- ४ धमसरका २७ वर्षीय अब्दुल हाकिम खाँन र कोटहीमाई गाउँपालिका- ३ बस्ने २२ वर्षीय सुरज लोहार रहेको रुपन्देही प्रहरी प्रमुख एसपी भरतबहादुर विश्वकर्माले बताए ।
सियारीका अध्यक्ष थानेश्वर घिमिरेले हजुरबुबादेखिको सम्बन्ध लामो समयदेखि आफ्नो गाडीका चालककै संलग्नता थाहा पाएपछि कसलाई विश्वास गर्ने भन्ने संकट परेको बताउँछन् । चालक थारुले अध्यक्ष कहाँ के गर्न जाने सबै सूचना दिन्थे गरेको प्रहरीले बताए ।
वैशाख १ गते अध्यक्ष घिमिरेको घरपछाडिको पर्खालनजिकै विष्फोटक पदार्थ भेटिएको थियो । जसलाई नेपाली सेनाले डिस्पोज गर्यो । असार १ गते बिहान सिद्धार्थनगर नगरपालिका- ४ का भैरवप्रसाद कलवारको शिवम् ईम्पेक्सको (दाना फ्याक्ट्री गोदाम) कम्पाउण्डमा पर्खालबाहिर प्रेसर कुकर बम विष्फोट भएको थियो ।
सोही दिन मायादेवी गाउँपालिका- ८ सिटी हस्पिटल पछाडि जग्गामा प्रेस कुकर बम विस्फोट गराइएको थियो । यी सबै घटनामा तीनैजना संलग्न देखिएको प्रहरीले बताएको छ ।
संगठितरूपमा नै उनीहरूले अन्यसँग मिलेर फिरौती रकम माग गर्न विस्फोट गराएको एसपी विश्वकर्माले बताए । घटनामा अन्य केहीको पनि संलग्नता पाइएकोले खोजी भइरहेको उनले जानकारी दिए ।
प्रहरीले पक्राउ परेकाबाट ५ थान मोबाइल र २ वटा मोटरसाइकल बरामद गरेको छ । उनीहरुमाथि विष्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ ।
लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले श्रृंखलावद्ध विस्फोटमा संलग्न पक्राउ पर्नु रुपन्देही प्रहरीको ठूलो सफलता भएको बताए ।























