शिवराजमा नदिजन्य पर्दाथ चोरी निकासी गरे ५० हजार देखि १ लाख ५० हजार जरिवाना


दिपक खड्का
कपिलवस्तु । शिवराज नगरपालिकाको १३ औ नगर सभाले शिवराज नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यन्वयन गर्न बनेको आर्थिक विधेयक २०८० सर्व सहमत रुपमा पारित गरेको छ । असारको १० गतेका दिन १३ औँ नगर सभाले नदिजन्य पर्दाथ चोरी निकासीलाई निरुत्साहित गर्न ट्याक्टरलाई रु.५० हजार टिप्पर/ट्रकलाई रु. १ लाख र जेसीभी वा ठुला उपकरणलाई रु. १ लाख ५० हजार जरिवाना तिर्नुपर्ने आर्थिक विधेयक २०८० लाई अनुमोदन गरेको हो ।
उक्त कानुन नेपालको संविधानको धारा २२८ को उप धारा २ बमोजिम विधेयक बनाई लागु गरिएको शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले बताए । शिवराज नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को अनुमानित आय व्यय १ अर्ब २७ करोड ८ लाख ५० हजार नगर सभाले प्रारित गरेको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिए ।
नगरपालिकाले सबै भन्दा बढि रकम शिक्षा तर्फ रु. ८ करोड ३२ लाख विनियोजन गरेको छ । कृषि तर्फ १ करोड पशु तर्फ ५० लाख स्वास्थ्य तर्फ ३ करोड ५० लाख सामाजिक विकास तर्फ ५५ लाख रुपैया विनियोजित गरिएको पाण्डेले बताए ।























