मधेश प्रदेश, मुख्य समाचार

जगरनाथपुरमा हुन लागेको गाउँ सभाको स्थानीयले गरे बिरोध

रंजित चौरसिया
२०८० असार १० | बिहान ११:०३ बजे

वीरगंज १० असार । पर्साकोे जगरनाथपुर गाउँपालिकामा आज हुन लागेको गाउँ सभा गाउँ कार्यपालिका बाहिर गर्न लागिएको भन्दै स्थानीयले बिरोध गरेका छन् । सो गाउँपालिकाको गाउँ कार्यपालिकाको भवन हुँदा हुँदै अन्य ठाउँमा गाउँ सभा गर्न लागिएको भन्दै स्थानीय बासिन्दाले त्यसको बिरोध गरेका हुन् ।

जनगरनाथपुर गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ नीति तथा कार्यक्रम र बजेट प्रस्तृत गर्न श्री ने.रा.मा.वि. संठीको विद्यालय प्राङ्गणमा आईतबार ११ बजेदेखी गाउँ सभाको लागि तयारी गरेको छ । जसका लागि गाउँपालिका कार्यालयबाट टेबल, कुर्सी लगायतका ट्याक्टरमा सामान लोड गरि लगिरहेको अवस्थामा स्थानीयले सो सामानसहितको ट्याक्टर नियन्त्रणमा लिई बिरोध गरेका छन् ।

गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा विभिन्न योजनाहरुमा व्यापक अनियमितता भएको र सूचना मांग गर्दा समेत नदिने गरेको नेकपा एमाले जगरनाथपुर गाउँपालिका कमिटीका प्रतिनधि महमद मन्सुरीको आरोप छ । उनले जनताको समस्या, मुद्दा र आवश्यकतालाई नसमेटि गोप्य रुपमा आफू अनुकुल नीति तथा कार्यक्रम ल्याउन लागिएको आरोप लगाए ।

तर गाउँपालिकाले भने असार १ गते एक सूचना नै जारी गरि गाउँ सभाको बैंठकमा उपस्थित हुन सम्पूर्ण स्थानीयलाई आग्रह गरेको छ ।

कमेन्टहरु