भ्रष्टाचार, मधेश प्रदेश, मुख्य समाचार

पदको हुर्मत देखाउँदै अध्यक्ष प्रमोद तिवारी, हाजिरी रजिष्टर र दर्ता चलानी लिए कब्जामा

रंजित चौरसिया
२०८० जेष्ठ ३१ | मध्यान्ह १०:०२ बजे

वीरगंज ३१ जेठ । पर्साको विन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले दर्ता चलानी र हाजिरी रजिष्टर आफ्नो कब्जामा लिएको आरोप लागेको छ । गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले दर्ता चलानी र हाजिरी रजिष्टर २÷३ दिनदेखी आफ्नो कब्जामा लिएको गाउँपालिकाका उपाध्यक्ष र कर्मचारीहरुले आरोप लगाएका छन् ।

विन्दवासिनी गाउँपालिकाका कर्मचारी श्यामबाबु साहले दर्ता चलानी गर्ने अजय श्रीवास्तव संग दर्ता चलानी बारे सोध्दा उनले दर्ता चलानी आफूसंग नरहेको भन्दै आफू छुट्टीमा रहेको बताए । कर्मचारी साहले तीन दिनदेखी आफूहरुले हाजिरी रजिष्टर र दर्ता चलानी नहुँदा तीन दिनदेखी हाजिरी नगरेको बताए ।

विन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योति चौरसियाले हाजिरी रजिष्टर र चलानी दर्ता अध्यक्ष प्रमोद तिवारीले आफ्नो कब्जामा राखेको बताईन् । के कारणले हाजिरी रजिष्टर र चलानी दर्ता आफ्नो कब्जामा राख्नु भएको छ, अध्यक्षजीले नै बताउने उपाध्यक्ष चौरसियाको भनाई छ । गाउँपालिका अध्यक्षको धेरै पावर भएकोले जे पनि गर्न सक्ने जस्तो सोच भएका अध्यक्ष तिवारीको दम्भ अगाडी अरुको केही नचलेको उपाध्यक्ष चौरसियाको भनाई छ ।

गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले हाजिरी रजिष्टर र दर्ता चलानी आफूसंग भएको कुरा झुठो रहेको दाबी गरे । कुनै पनि कर्मचारीको नरोकिएको बताउँदै कार्यालय समयमा नआउने कर्मचारीको हाजिरी नगराईएको प्रतिक्रिया दिए ।

गाउँपालिका स्रोत अनुसार आर्थिक वर्षको अन्तिममा कमिसनको सेटिङ्गमा सम्पन्न भएको कामको भुक्तानी अर्काे प्रमुख प्रशासकीयको पालामा भए अध्यक्ष तिवारीले पाउने मोटो कमिसन गुम्ने डरले जानी जानी नयाँ हाकिमलाई हाजिर हुन नदिने नियतले हाजिरी रजिष्टर र दर्ता चलानी कब्जामा लिएका छन् । अधिकृत राजु साहकै कार्यकालमा भुक्तानी भए मोटो कमिसन आउने भएकोले अध्यक्ष तिवारीले जसरी भए पनि सरुवा भएका अधिकृत राजुलाई नै ल्याएर भुक्तानी गराउने अडानमा रहेको बताईन्छ । अर्काे ठुलो योजनाहरुको गोप्य टेण्डर गर्ने नियतले पनि दर्ता चलानी कब्जा गरेको बताईएको छ ।

त्यसैगरी गाउँपालिकामा व्यापक भ्रष्टाचार भएको निवेदन परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले बुधवार पालिकामा छापामारी गरी विभिन्न कागजातहरु नियन्त्रणमा लिएको जनाईएको छ । कुन–कुन शिर्षकको कागजातहरु अख्तियारले लिएर गएको बारे विस्तृत विवरण आउन बाकी रहेको छ ।

कमेन्टहरु