लुम्बिनी प्रदेश, विचार/ब्लग

घरेलु हिंसा: न्यूनीकरणका उपायहरु

नवलपुर टुडे
२०८० जेष्ठ ८ | मध्यान्ह ०२:०२ बजे

लेखक: भोजराज पाण्डेय प्रहरी नायव उपरीक्षक, नवलपरासी (ब.सु.प.)

नेपालको मध्ये भागमा अबस्थित नवलपरासी जिल्लाको रामग्राम नगरपालिका वार्ड नं ६ की एक जना महिला अहिले आफ्नै श्रीमान र सासू ससुराबाट घरेलु हिंसाको पीडित बनेको भन्दै जिल्ला प्रहरी कार्यालयमा पुगेकी छिन, कारण हो “दाइजो”। सानै उमेरमा एक आपसमा माया प्रेम बसेपछि दुबै जना कानूनी बन्धन तोडेर भागि बिवाह गरि दुई बर्ष छिमेकी मुलुक भारतमा बस्दै गरेकोमा घरबाट बावाआमाले “घरमा फर्केर आउनु छोरा बुहारीलाई पनि लिएर” भनेर ढिपी गरे पछि काखमा दुधे बालकसहित घरमा आए पछिको केहि दिन पश्चात नै सासू ससुराले दाइजोको बिषय उठाए पछि सासू ससुरा र बुहारी बीचमा सामान्य बिवाद, किचकिच, झगडा हुंदै हातपातसम्मको अबस्था सृजना भई घरमा हिंशा र कलहको बीउ रोपिन पुग्यो । आफ्नै श्रीमतीलाई बुवाआमाबाट भएको यस बिभेद र अन्यायको बारेमा उसले एक शब्द पनि निकालेन र प्रतिबाद गर्ने कुनै पहल गरेन । पहिले बिवाह नहुदै माया प्रेम गर्ने बेला “तिमी बाहेक अरु मलाई केहि चाहिंदैन” भनेर प्रेमिकालाई बशमा पारेर भागि बिवाह गरि भारत गए पश्चात छोरासमेतको जन्म भई घरमा फर्केपछि निजको श्रीमानले पनि आमाबाबुकै बोलीमा लोली मिलाउदै श्रीमतीलाई दाइजो किन नल्याएको भन्दै दिनहुँ कुट्न थालेपछि पीडित महिला साहस गरेर घरेलु हिंसाको उजुरी लिई प्रहरी कहाँ पुगेकी हुन् ।

माथि उल्लेखित घटना त हाम्रो नेपाली समाजमा हुने एउटा प्रतिनिधि घटना हो । सांध सीमाना, बालबच्चा, खानपान, लवाई खवाई, देखासिकी, र सामाजिक सञ्जालमा पोष्ट भएका बिचार र तस्वीर लगायतका अन्य बिबिध झिनामसिना बिषयहरु नै हिंशाका उपजहरु हुन । मानिसको मनमा अपराधिक वा खराव बिचार पैदा हुनलाई कुनै पुर्ववत योजना बनाई रहनु पर्दैन । क्षणक्षणमा नै बिषयबस्तुको आधारमा बिचारमा परिवर्तन आउँछ । जब मानिसको मनमा खराब बिचार हाबी हुन्छ तब उसमा खराब काम गर्ने मनसाय पैदा भई हिंसा गर्न उद्धेलित हुन्छ ।

हिंसा, अत्याचार, अन्याय आफैमा एउटा पीडा बोध गर्ने शब्द हुन । हिंसा भनेको सामान्यतया एउटै परिवार भित्र एक व्यक्तिले अर्को व्यक्तिलाई दिने यातना, पीडा, दु:ख र अपमान हो । यो शरीरिक, मानसिक, आर्थिक, यौन जन्य वा जुनसुकै रुपमा पनि हुन सक्दछ । शारीरिक रुपमा कुटपिट गर्ने, चोटपटक लाग्ने, यातना दिने, मानसिक रुपमा अपमान, गाली गलौज गर्ने, डर धम्की दिने, त्रासपूर्ण वा अत्यासपूर्ण व्यवहार गर्ने, हतोत्साहित गर्ने, जिस्क्याउने जस्ता कार्यहरु हिंसाका रुपहरु हुन् । त्यस्तै यसका साथै यौनजन्य प्रकृतिका दुर्र्व्यवहार, परम्परागत तथा रुडीबादी संस्कारहरु र महिला तथा पुरुषको आत्मसम्मानमा ठेस पुर्याउने लगायतका क्रियाकलापहरु पनि हिंसाजन्य क्रियाकलापहरु हुन् ।

अर्को अर्थमा भन्नु पर्दा परिवार भित्र आर्थिक स्रोत साधनको पहुँच, प्रयोग र उपभोगबाट कसैलाई बञ्चित गर्ने, दाइजोको कारण बुहारीलाई घरबाट निकाला गर्ने, आत्मसम्मानमा चोट पुर्‍याउने जस्ता क्रियाकलापलाई अपमान यातना वा पीडा भन्न सकिन्छ । नेपालको बर्तमान संविधान २०७२ मा “महिला भएकै कारण कुनै किसिमको भेदभाव गरिने छैन, प्रत्येक महिलालाई स्वाभिमानी भई, स्वतन्त्रता पूर्वक बाँच्न पाउने अधिकार हुनेछ” भन्ने उल्लेख गरिएको छ ।

आ.व. २०७८/७९ मा नेपालमा दर्ता भएका महिला हिंसाको संख्या २१ हजार ३११ छ । जसमध्ये नाबालिका बलात्कार मात्र १ हजार ५६० रहेका छन् । जबकि १० बर्ष अगाडी आर्थिक वर्ष २०६९/७० मा महिला र बालिका माथि हुने हिंसा र अपराधका घटनाको संख्या ३ हजार १४७ थियो । त्यो संख्या १० बर्षको अबधीमा बढेर २१ हजारको हाराहारीमा पुगेको छ । तथ्यांक अनुसार नेपालमा लैंगिक हिंसा विगत १० वर्षको अबधीमा करिब ७ गुणाले वृद्धि भएको देखिन्छ ।

नेपालमा प्रचलित रहेका ऐन कानूनहरुमा प्रत्येक महिलाहरुमा प्रजनन् स्वास्थ्य सम्बन्धी हक अधिकार हुनेछ भनि उल्लेख गरिए तापनि श्रमिक महिलाहरुलाई सेवा सुबिधा सहित प्रसुती बिदा दिने सन्दर्भमा कतिपय अबस्थामा सुबिधा सहितको बिदा दिन आनाकानी भएको अबस्था छ । महिला हिंसा सम्बन्धी कानून प्रभावकारी भएको भए तापनि परिवारकै सदस्यहरुबाट परिवारकै सदस्यहरुलाई गरिने हिंशालाई कानूनी कार्वाही भन्दा पनि इज्यत प्रतिष्ठा वा मान मर्यादाको कारण सम्बन्धित निकाय सम्म पुग्न नदिई बलपुर्बक समाधान खोजिनुले यसले केहि हद सम्म प्रश्नहरु जन्माउने गरेको पाइन्छ ।

पछिल्लो समयमा सामाजिक सञ्जालको बढ्दो प्रयोग पनि हिंशा वृद्धि हुनुको प्रमुख कारणको रुपमा रहेको छ । नचिनेका मानिसहरु संग फेसबुक मार्फत सम्बन्ध स्थापित गर्न खोज्दा परिवारका सदस्यहरु बीचमा बेमेल हुन गई त्यसले हिंशाको रुप धारण गरेको अबस्था पनि छ । देखासिखिको कारण आफ्नो अनाबस्यक आबस्यक्ता पुर्ति गराउन महिलाहरुले आफ्नो श्रीमान प्रति दवाब सृजना गरि पुरुषलाई हिंसामा पुर्याएको अबस्था पनि छ । यहाँ सम्म की परिवारका सदस्यहरु बीचमा मोबाइलको पासवर्डको बिषयलाई लिएर समेत हिंसाजन्य ब्यवहारहरु हुने गरेको छ । श्रीमान श्रीमती बीच यही बिषय बढ्दै गएर पारपाचुके सम्म पुगेको अबस्था पनि छ ।बालबालिकाहरु सामाजिक सञ्जालको दुरुपयोगको कारण पनि हिंसामा पर्ने गरेका छन् । सामाजिक सञ्जालको प्रयोग गर्ने क्रममा बिश्वासमा परि आफ्नो साथिलाई गोप्यता सेयर गर्दा पछि त्यसैलाई ब्लाकमेलिङको माध्यम बनाएर बालबालिका माथि आर्थिक, यौनजन्य तथा मानसिक हिंसा समेत हुने गरेको छ ।

महिला हिंसा बढ्दै जानुको अन्य कारणहरुमा परिवार भित्र माया, सम्मान र अनुशासनहिनताको कारण अराजक स्थिति उत्पन्न हुनु, शिक्षा र चेतनाको अभाव, मदिराजन्य पदार्थको प्रयोग, पारीवारिक वेमेल, बहुविवाह, बाल विवाह, अन्तरजातीय विवाहका कारण विचार, भावना र संस्कृतिमा मिलन नहुनु र रुप, सौर्न्दर्य र धन सम्पत्तिको प्रलोभनमा परेर र राजनीतिक तथा बिबिध सामाजिक प्रतिसोधको कारण पनि हिंसाका घटनाहरु बढी रहेका छन् ।

खास गरि हिंसा सहने वानी, पारिवारिक, सामाजिक डरले दूषित क्रियाकलापहरु बाहिर निस्कन नसक्दा हिंसात्मक कार्यहरु अझ बढ्दै गएका छन् । नेपाली समाजमा पुरुषहरु सधै उच्च स्थानमा रहने र महिलाहरुको परिश्रम कामको संवेदनशीलता र प्रजनन स्वास्थ्यका उत्पादन मूलक भूमिका स्वीकार गर्न नसक्दा महिला यौन चाहना पूरा गराउने घरको काममा सहयोग गर्ने, निःशुल्क सहयोगीको रुपमा हेर्ने परम्परा कायम नै छ । विभिन्न प्रकारका पीडा सहन नसकी कानूनी बाटो रोज्दा पनि उचित समयमा उचित न्याय प्राप्त गर्न नसक्दा अर्को पीडा हुने र पीडकले अपराध गर्न झन उत्साहित हुने गरेको छ । वैदेीशक रोजगारमा जाने महिलाहरु पनि विभिन्न प्रकारका पीडा, दुर्ब्यवहार र बिभिन्न प्रकारका यातना सहन बाध्य भएका र त्यस्ता हिंसालाई सामान्य रुपमा लिने प्रचलनले हिंसा झन बढ्न गइरहेको छ । युवाहरुलाई स्वदेशमै रोजगारीको यथेष्ठ अबसर प्राप्त नभएको कारण दैनिक रुपमा पुरुष तथा महिलाहरु खाडि लगायतका मुलुकहरुमा वैदेशिक रोजगारमा जाँदा घरमा परिवारका अन्य सदस्यहरुबाट विभिन्न प्रकारका हिंसामा परेको अवस्थाहरु ज्यादै पीडादायक छन् ।

कुनै पनि हिंसात्मक क्रियाकलापले परिवार समाज र  समाज तथा परिवारको विकासमा प्रत्यक्ष असर पार्ने भएकोले हिंसा अन्त्यका लागि हामी अग्रसर हुनु आबस्यक छ । नेपाली समाजमा व्याप्त पुरुष मानसिकतामा कठोर रुपमा परिवर्तन हुनु पर्दछ । महिलाहरुको श्रम, शहनशीलता, र लगनशील मेहनती गुणको कदर गरिनु पर्दछ, महिलाहरुलाई शिक्षा चेतना दिनुको साथै विद्यालय स्तरदेखि नै महिलामैत्री पाठ्यक्रम निर्माण गरिनु पर्दछ, कानून कार्यान्वयनको पक्ष बलियो र सबैका लागि समान हुनुपर्दछ ।

महिला हिंसा र अपमान गर्ने, यौन दुर्ब्यवहार गर्नेहरुलाई कानून बमोजिम गरिनुपर्दछ । सामाजिक सञ्जालका माध्यमहरु यू ट्युव, टिकटक लगायतको कारण पनि हिंसाजन्य कृयाकलापहरु परिवारमा हुने गरेका छन् । परिवारमा मदिरा र लागुपदार्थ सेवनका कारण अधिकांश हिंसाजन्य घटनाहरु घटेको देखिएकोले प्रहरीले यस विरुद्ध जनचेतना फैलाउने कार्यलाई अझ प्रभावकारी बनाउनु पर्दछ । हिसा रोकथाम तथा न्यूनीकरणको लागि बिभिन्न तह र तप्काबाट अनेकन प्रयासहरु भएका छन, तर ती प्रयाप्त छैनन् । यसमा प्रहरीको चेतनामुलक प्रयास बढी प्रभावकारी हुन सक्दछ । सामाजिक, साँस्कृतिक, धार्मिक तथा बिभिन्न अन्धविश्वासी परम्पराका कारण महिलाहरुले खपिरहनु परेका यस्ता विकृति अन्त्य गरिनु आवश्यक छ ।

वैदेशिक रोजगारको लागि खाडि लगायतका मुलुकहरुमा गैरहेको युवा जनशक्ति रोक्न देशमा रोजगारको व्यवस्था गर्ने, प्रत्येक परिवारमा क आपसमा सम्मानजनक व्यवहार गर्न सिकाउने किसिमका नैतिक शिक्षा दिने र अनुशासन सिकाउन सकेमा यस्ता समस्याहरु कम गराउन सकिन्छ । समाजमा हिंसा अन्त्यका लागि आफ्नो हक अधिकार र कर्तव्य प्रति पूर्ण जिम्मेवार भई सभ्य र अनुशासित समाज निर्माण गर्न सकेमा कोसेढुङगा साबित हुने कुरामा द्धिबिधा रहदैन ।

कमेन्टहरु