लुम्बिनीमा दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट सुरु


काठमाडौं, वैशाख २८ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो ‘बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३’ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल (नाट्टा)को संयोजनमा लुम्बिनीमा तीन दिने मार्ट सुरु भएको हो ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश कुमार त्रिपाठी) ले बिहीबार मार्ट उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा भिक्षुु मैत्तयले बुुद्धजन्मस्थल लुम्बिनीबाट भ्रमण तालिका बनाउन आग्रह गरे । उनले गौतमबुुद्धले महापरिनिर्वाण हुुनअघि जीवनमा एकपटक भए पनि बुुद्ध जन्मस्थल लुम्बिनी पुुग्दा पुण्य प्राप्त हुने शिक्षा दिएको प्रसंग उल्लेख गर्दै विश्भरका बौद्धमार्गीहरुले लुुम्बिनीबाटै यात्रा थालनी गर्नुपर्नेमा जोड दिए ।
मार्टको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि वातावरण निर्माण गर्ने तथा ट्राभल कम्पनीहरुले लुम्बिनीलाई केन्द्रमा राखेर टुर प्याकेज निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिडका कारण सुुस्ताएको पर्यटन क्षेत्रलाई बुद्ध जन्मस्थल लुम्बिनीबाट चलायमान बनाउनका लागि दोस्रो बुुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टको आयोजना गरिएको बताए ।
नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले लुम्बिनीको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनीमा मार्टको आयोजना गरिएको जानकारी दिए ।
कार्यक्रममा होटेल एसोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाह, नाट्टाका अध्यक्ष रमेश थापालगायतले लुम्बिनी आफैँमा महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको अवस्थामा यस प्रकारका कार्यक्रमले यस क्षेत्रको पर्यटन थप चलायममन हुने अपेक्षा गरेको बताए ।
मार्टमा नेपालसहित भारत, मलेसिया, चीन, कोरिया, बंगलादेश, म्यानमार, थाइल्यान्ड, श्रीलंकालगायत देशहरूबाट २८ वटा ट्राभल/टुर कम्पनीहरु सहभागी छन् ।























