लुम्बिनी प्रदेश

लुम्बिनीमा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ट्राभल मार्टको तयारी

नवलपुर टुडे
२०८० बैशाख २६ | मध्यान्ह ०७:०१ बजे

रुपन्देही, बैशाख २५ । लुम्बिनीमा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ट्राभल मार्टको तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो संस्करणको ‘बुद्धिष्ट इन्टरनेश्नल ट्राभल मार्ट’ अर्थात ‘बीआईटीएम’ गर्न लागेको हो ।

यसअघि सन् २०१९ मा पहिलोपटक बीआईटीएम भएको थियो । मार्टमा झण्डै ४० देशका पर्यटनविद्, व्यवसायी तथा टूर अपरेटर सहभागी हुने बीआईटीएमका संस्थापक तथा नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईंले नवलपुर टुडेलाई जानकारी दिए ।

उनका अनुसार बैशाख २८ गतेदेखि सुरु हुने मार्ट वैशाख ३० गतेसम्म चल्नेछ । यो कार्यक्रमले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन ठूलो भूमिका खेल्ने गुरागाईंको भनाई छ ।

‘अहिले विश्वस्तरमा चलेको लण्डनको डब्लुटीएम, जर्मनीको आइटीबी बर्लिन जस्तै नेपालको प्रमुख कार्यक्रमका रुपमा बीआईटीएम लूम्बिनी हुन्छ’, उनले भने ।

बुद्धिष्ट इन्टरनेश्नल ट्राभल मार्टको तयारी तीव्र रुपमा भइरहेको नाट्टाका अध्यक्ष रमेश थापाले बताए । नाट्टाको केन्द्रीय कार्यालयमा सचिवालय राखेर बुद्ध दर्शनसँग सम्बन्धित विज्ञ राखेर तयारी तीव्र पारिएको अध्यक्ष थापाले बताए । बीआईटीएममा आउने अन्तर्राष्ट्रिय विज्ञ र अतिथीलाई आमन्त्रण पनि गरिएको उनले बताए ।

‘हामी अहिले बीआईटीएम आयोजना गर्ने अन्तिम तयारीमा छौँ । पर्यटन बोर्डको सहयोग र सहकार्यमा सबै तयारी तीव्र पारिएको छ’ उनले भने, ‘यसका लागि नाट्टाका वरिष्ठ उपाध्यक्षको संयोजकत्वमा विभिन्न समिति गठन गरेर काम भइरहेको छ ।’

लुम्बिनीको होटल पवनमा आयोजना हुने बीआईटीएममा संघीय सरकारका मन्त्री, पर्यटन सचिव, पर्यटन बोर्डका सीइओ डा.धनन्जय रेग्मी, सातै प्रदेशका पर्यटन व्यवसायी, विभिन्न जिल्लाका युवा पर्यटन व्यवसायी, पत्रकार, कलाकार तथा पर्यटन अभियान्ताको सहभागिता रहने नाट्टाका महासचिव कुमार थपलियाले जानकारी दिए ।

कमेन्टहरु