लुम्बिनी प्रदेश

प्रहरी महानिरीक्षक कुँवरद्वारा ईप्रका बुटवलको नवनिर्मित भवनहरू उद्घाटन

नवलपुर टुडे
२०८० बैशाख २१ | मध्यान्ह ०१:०१ बजे

बुटवल । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देही परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनहरूको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीहरूलाई कदरपत्र तथा भवन निर्माणमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरूलाई पुरस्कार समेत प्रदान गरेका थिए ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिबद्ध र प्रयासरत रहेको बताए ।

आधुनिक भवनहरूसँगै प्रहरीको सेवाप्रतिको इमानदारिता, जिम्मेवारी बोध, प्रहरी आचरण र व्यवहारले प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्ने विश्वास उनले व्यक्त गरे । भवनहरू सबैको साझा सम्पत्ति रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले नव-निर्मित भवनहरूप्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्द्धन गर्दै दीर्घकालसम्म जर्गेनाका लागि सहयोग गर्न सवैसँग आग्रह गरे । 

कमेन्टहरु