लुम्बिनी प्रदेश

लुम्बिनी र कपिलवस्तुमा विशेष सरसफाइ

नवलपुर टुडे
२०८० बैशाख १० | मध्यान्ह ०३:०१ बजे

बुद्धजयन्ती नजिकिँदै गर्दा लुम्बिनी र कपिलवस्तुमा विशेष सरसफाइ अभियान चलाइएको छ। विकास कोषका कर्मचारी तथा नेपाली सेनाले लुम्बिनी परिसरमा विशेष सरसफाइ गरिरहेका छन्। शनिबार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहर क्षेत्रसहित– ४ नं र ५ नम्बर गेट वरपरको क्षेत्रमा सफाइ गरेर अभियानको सुरुवात गरेको हो।

ग्रीन लुम्बिनी क्लिन लुम्बिनी’ भन्ने नाराका साथ बुद्धजन्मस्थललाई सफा र स्वच्छ राख्ने उद्देश्यले अभियान सुरु गरिएको हो। विकास कोषका योजना प्रमुख तथा  मञ्च, सरसफाइ र वृक्षरोपण उपसमितिका संयोजक सरोज भट्टराईले बुद्धजयन्तीको अवसरमा विकास कोषभित्रको फोहर सङ्कलन गरेको बताए। “सङ्कलन गरिएको फोहोर कहाँ फाल्ने भन्ने समस्या छ। दिगो समाधानका लागि उपाय पनि खोज्दै छौँ”, उनले भने।

नियमित रुपमा सफाइ गर्दै आए पनि ४ नम्बर र ५ नम्बर गेट नजिकै स्थानीयले फोहर फाल्ने गरेकाले सचेतनाका लागि कोषका पदाधिकारी, कर्मचारी, नेपाली सेना, प्रहरी, स्थानीय अगुवाको सहभागितामा जनचेतनाका लागि सरसफाइ गरिएको उनले बताए। फोहर व्यवस्थापनको दिगो समाधान नहुँदा स्थानीय केही होटल व्यवसायी विकास कोषको परिसरलाई नै डम्पिङ साइट बनाएका छन् जसले गर्दा महिलबार क्षेत्रमा प्रदूषण बढेको छ।

लुम्बिनीमा वृक्षरोपण गरिने 
बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा पाँच सय ६७ बिरुवा रोपिने भएको छ। विकास कोषभित्र विभिन्न फलफूलका बिरुवा रोप्ने तयारी गरिएको विकास कोषका योजना प्रमुख तथा मञ्च, सरसफाइ र वृक्षरोपण उपसमितिका संयोजक भट्टराईले जानकारी दिए। विकास कोष परिसरमा आँप, लिचि, अम्बा लगायतका विभिन्न जातका फलफूलका बिरुवा रोपिने विकास कोषले जनाएको छ। रासस

कमेन्टहरु