करेन्ट लागेर गम्भीर घाइते भएका बुटवलका उद्योगी श्रीसको निधन


बुटवल, वैशाख ३ । एक महिनाअघि करेन्ट लागेर गम्भीर घाइते भएका बुटवलका उद्योगी खेमबहादुर श्रीसको निधन भएको छ । नवलपरासीको बर्दघाटमा विद्युतिकरणको काम गर्दा करेन्ट लागेर गम्भीर घाइते भएका श्रीसको आइतबार बिहान उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको हो ।
उनी बुटवल औद्योगिक क्षेत्रका उद्योगी हुन् । ५७ वर्षीय श्रीस नेपाल उद्योग व्यापार महासङ्घका केन्द्रीय सचिवालय सदस्य, महासङ्घ लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष एवं उद्योग व्यापार सङ्घ बुटवलका पूर्व अध्यक्षसमेत हुन् । बुटवल औद्योगिक क्षेत्रको बुटवल इलेक्ट्रोनिक्स एन्ड ट्रान्सफर्मर उद्योगका सञ्चालक श्रीसको निधनले बुटवलको औद्योगिक क्षेत्रलाई ठुलो क्षति पुगेको उद्योग व्यापार सङ्घ बुटवलले जनाएको छ ।
श्रीसको निधनप्रति उद्योग व्यापार सङ्घ बुटवलका अध्यक्ष गोविन्द गैरे, नेपाल उद्योग व्यापार महासङ्घका महासचिव खिमनारायण पराजुली लगायतले शोक वक्तव्य लेख्दै दुःख व्यक्त गरेका छन् ।























