चाइल्ड भर्सनका लागि पहिलो रोजाइमा बाल गायक सुप्रिम मल्ल ठकुरी


काठमाडौ, चैत्र १२ । बाल गायक सुप्रिम मल्ल ठकुरी एक चर्चित बाल गायक हुन । उनी बाजुरामा जन्मिएका हुन् । हाल उनी बाबाआमाका साथ काठमाडौंमा बसेर अध्ययनसँगै संगीतलाई अगाडि बढाएका छन् ।
नेपाली साङ्गीतिक क्षेत्रमा केही बाल गायक–गायिकाहरुको चर्चा पनि कम छैन । सानो उमेरमै आफ्नो गायकीको कारण लोभलाग्दो चर्चा कमाउनेहरू थुप्रै छन् । त्यस मध्ये पहिलो रोजाईमा सुप्रिम मल्ल ठकुरी पर्छन । जसले सानो उमेरमै साङ्गीतिक क्षेत्रमा लोभलाग्दो ख्याति कमाएका छन् ।
आगामी वैशाखमा ११ वर्ष पुग्दै गरेका ५ कक्षामा अध्ययनरत उनले दर्जनौं हित गीतमा आफ्नो सुमधुर स्वर दिइसकेका छन् । स्टेज कार्यक्रम र लाइभ दोहोरीमासमेत दर्शक श्रोताले उनलाई निकै खोजिने बाल गायकमा पर्ने गरेका छन् ।
उनले ‘बिजुली’, ‘बिछोडको करौंतीले’, ‘ताराबाजी लै छोरा’ जस्ता केही गीतहरू गाएपछि झन ‘द भ्वाइस किड्स नेपाल’ को पहिलो सिजनमा सहभागी भएका थिए ।त्यसपछि भने उनको स्वरको चर्चा हवात्तै बढ्यो । उनी ‘भ्वाइस अफ नेपाल’ को फाइनलसम्म पुग्न सफल भए पनि विजेता भने बन्न सकेनन् । यद्यपि, उनलाई लिएर गीत रेकर्ड गराउनेहरूको संख्या बढ्दै गयो ।
‘मेरो बाबा सुपरम्यान’, ‘देउरालीलाई भेटी’, ‘सम्झिराख है साथी’, ‘फोटो सिरानी’, ‘फोटो फिरिममा’, ‘रेलको बाटो’, ‘ओए काजल’, ‘फापरको पिठो’, ‘धोकेबाज हौ तिमी’ लगायतका थुप्रै चर्चित गीतमा उनले स्वर दिएका छन् । यी मध्ये ‘फोटो फिरिममा’, ‘रेलको बाटो’, ‘ओए काजल’, ‘फापरको पिठो’, ‘धोकेबाज हौ तिमी’ सुप्रिमको स्वरमा चाइल्ड भर्सनमा सार्वजनिक भएका हुन् । ती गीत अहिले चर्चा चर्चामा छन ।
चलचित्र ‘प्रेम गीत ३ ’को शीर्ष गीत ‘हर यूग होस्’ समेत सुप्रिमको स्वरको चाइल्ड भर्सनमा सार्वजनिक भएको छ ।

यतिबेला भने सुप्रिमले पढाइलाई ध्यान दिँदै केही समयलाई स्टेज कार्यक्रममा सहभागी नहुने बताएका छन् । आफ्नो आउँदै गरेको परीक्षालाई ध्यान दिँदै उनले चैत भरी स्टेज कार्यक्रममा सहभागिता नजनाउने बताएका हुन् ।























