भ्रष्टाचार

मालपोत कार्यालय वीरगंजमा भ्रष्टाचारको गन्ध फैलाउँदै अधिकृत तेली

नवलपुर टुडे
२०७९ पुस १४ | बिहान ०९:०९ बजे

रंजित चौरसिया
वीरगंज १४ पुस । भूमि सुधार तथा मालपोत कार्यालय पर्सामा फाँटै पिच्छे भ्रष्टाचारको बिगबिगि फैलिएको हुनाले सेवाग्रहीहरु मर्कामा परेका छन् । कार्यालय प्रमुख ऋषी दाहालको निगरानीमा भईरहेको भ्रष्टाचार कार्य “दिन दुईगुना रात चौगुना” बढेको भए पनि नियमनकारी निकायले कानमा तेल हालेर बस्नुले विभिन्न किसिमको शंका उपशंका उब्जिएको सेवाग्रहीहरुको आरोप रहेको छ ।

विशेष गरी मुद्दा फाँटका अधिकृत राजेश्वर साह तेलीले महिनामा करिब ५ दिन मुद्दा फाँटमा न्युन समय बस्ने र बाँकी काम घरैबाट गर्ने गरेको हुनाले मुद्दा फाँटमा मुद्दा लडिरहेका सेवाग्रहीहरु आतंकित बनेका छन् । अधिकृत तेलीले हाजरी गर्ने समयमा कसैले नहेर्ने गरी लुकेर हाजिरी गरी कार्यालयबाट अनुपस्थित हुने गरेको र मुद्दा फाँटमा आएका सेवाग्रहीहरुलाई कर्मचारी शिवनारायण साह कानुले अधिकृत सर विशेष कामले बाहिर जानु भएको फर्काउदै गरेको एक मुद्दा फाँटका सेवाग्रहीले मंगलबार यस अनलाईनसँग बताए ।

नेपाल सरकारको नियमानुसार एक जना कर्मचारीले बढीमा एक ठाँउमा दुई वर्ष बस्ने प्रक्रिया मिलाएकोले अधिकृत तेलीले करिब ५ वर्ष देखि विभागलाई मोटो रकम खुवाई मालपोत कार्यालय पर्सामा अड्डा जमाएर बसेका छन् । मुद्दा फाँटबाट करोडौं करोड कमाउन सफल भएका अधिकृत तेलीलाई मालपोत कार्यालय भित्र भ्रष्टाचारको “डन” भनेर नामाकरण गरिएको छ । उनले कार्यालयमा अनुपस्थित भई फाईलको प्रायः कार्य घरबाट नै गर्ने गरेको बताईन्छ ।

जुन सेवाग्रहीसँग मोलमोलाईको कुरो मिल्छ, उनलाई नै मात्र भेटने र उनको काम मात्र हुने गरेकोले घुसको रकम नदिनेहरु मर्माहित भएका छन् । उदाहरणको लागि मुद्दा फाँटमा वीरगंज महानगरपालिका वडा नं. १९ बस्ने राजनारायण बरैको जग्गा सन्दर्भमा ३५ दिने सार्वजनिक सूचना काटी सबै प्रक्रिया मिलेपनि अधिकृत तेलीले बरैसँग भेटघाटै नगरी आफ्ना फाँटका कर्मचारी शिवनारायण साह कानुलाई मोलमोलाई गरी रकम माग गर्न लगाएको पिडित बरैले बताए ।

कमेन्टहरु