देश

बेपत्ता झा दम्पतीको खाेजिमा लाग्याे सी.आई.बी. (CIB)

नवलपुर टुडे
२०७७ चैत्र ४ | मध्यान्ह ०७:१२ बजे

४ चैत, जनकपुर धाम । गत फागुन ११ देखि बेपत्ता महोत्तरीको पिपरा गाउँपालिकाका बृद्ध दम्पत्तिको खोजीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सी.आई.बी.) को टोली परिचालन भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीलाई प्राविधिक सहयोग गर्न प्रहरी निरीक्षकको नेतृत्वमा सीआईबीको टोली महोत्तरी पुगेको प्रवक्ता एसपी गंगा पन्तले जानकारी दिइन् । ‘अहिले अनुसन्धान सुरु भएको छ । बाँकी कुरा अनुसन्धानपछि भन्छौं’ उनले भनिन् ।

पिपरा गाउँपालिका–५ सहोडवास्थित आफ्नै घरमा १० फागुनको राति सुतेका ६६ बर्षीय मुसाफिर झा र उनकी पत्नी ६० बर्षीया गीतादेवी ११ फागुनको बिहान घरबाट वेपत्ता भएका हुन् ।

यी श्रीमान श्रीमती सुतेका छुट्टाछुट्टै कोठमा रगतको छिटासमेत भेटिएको प्रहरीको भनाइ छ । रगतको छिटा छिमेकीको घरसम्म देखिएपछि प्रहरीले स्थानीय केही व्यक्तिलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी झा आफ्ना श्रीमती, बुहारी र नातिनातिनासँगै घरमै बस्दै आएका थिए ।

उनी लोहारपट्टी नगरपालिकाको मोही जग्गामा साक्षी बसेका थिए । उनी साक्षी बसेकै कारण जग्गावाला पक्षले अपहरण गरेको हुन सक्ने आशंका गरिएपनि यो तथ्य पनि बाहिर आउन सकेको छैन ।

कमेन्टहरु