देश

बारुदकाे गन्ध नफैलाउन ओलिलाई भट्टराईकाे सुझाब

नवलपुर टुडे
२०७७ चैत्र ३ | मध्यान्ह ०४:१२ बजे

चैत ३, काठमाण्डाै।
नेकपा एमालेको झलनाथ–माधव समूहका प्रचार विभाग प्रमुख योगेश भट्टराईले ‘बारुदको गन्ध नफैलाउन’ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् ।

‘आज भर्खरै एउटा समाचार पढें । जहाँ, उत्तर कोरियाली नेता किमको बहिनीले अमेरिकी राष्ट्रपतिलाई भनेकी छिन् – ह्वाइट हाउसमा चार वर्ष शान्तिका साथ बस्ने हो भने बारुदको गन्ध फैलाउन बन्द गर । त्यो ज्यादै मार्मिक वक्तव्य छ,’ भट्टराईले भने,‘पार्टीको तर्फबाट र प्रतिनिधिसभा सदस्यका तर्फबाट पनि म प्रधानमन्त्रीलाई भन्न चाहन्छु, तपाईं अब दुई वर्ष बालुवाटारमा बस्न बाँकी छ, बारुदको गन्ध नफैलाउनुस् । यसले दुर्घटनातर्फ नै लान्छ ।’

ओलीले नेपाल पक्षले भेला गरे कारबाही गर्ने चेतावनी दिँदै आएका छन् । मंगलबारमात्रै बालुवाटारमा आयोजित चियापान कार्यक्रममा पनि ओलीले गुटगत भेला गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका थिए । त्यसको जवाफमा भट्टराईले भने,‘कारबाहीले मुलुक, राजनीति र पार्टी अघि बढ्दैन । हामी सबै एकपछि अर्को कारबाहीका निम्ति तयार छौं ।’

सर्वोच्चको निर्णयपछि एमाले र माओवादीबीचको एकता भंग भएर पूर्ववत् अवस्थामा दुबै पार्टी फर्किएसँगै मुलुक संगीन अवस्थाबाट गुज्रिरहेको उनले बताए ।
‘आज मुलुक एउटा संगीन मोडबाट अघि बढ्दैछ । विवेक सम्मत ढंगले निर्णय लिने र आफुलाई अघि बढाउनुपर्ने अवस्था सिर्जना भएको छ । आवेग र उत्तेजनाले दुर्घटनातर्फ नै लैजानेछ । एमाले संयमता र धैर्यता साथ अघि बढ्न खोजेको छ,’ भट्टराईले थपे।

झलनाथ–माधव समूहले बोलाएको राष्ट्रिय भेलामा सहभागी हुनेहरूलाई कारबाही गर्ने धम्की दिनुको साटो आफैं भेलाको उद्घाटन गर्न आउन उनले ओलीलाई आग्रह गरे । ‘बुद्धको देशमा शान्तिको भाषा हुन्छ । प्रधानमन्त्री आफैं बुद्धको अनुयायी पनि हुनुहुन्छ । आज बालुवाटारमा तपाईको भाषा शक्तिको भाषा छ ।

शक्तिको भाषा बदल्नुस् र शान्तिको भाषा बोल्नुस्,’ उनले भने,‘राष्ट्रिय भेलामा नजर लगाउनु भनेर प्रधानमन्त्रीले भन्नु भएको रहेछ । उहाँबाट नजर लगाउन को–को आउनुहुन्छ, परिचयसहित आए हुन्छ । प्रमुख अतिथि भएर तपाई आफैं भेलाको उद्घाटन गर्नुस् ।’

कार्यक्रममा बोल्दै एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी विभाजनको सुरुवात ओलीले नै गरेको बताए । ‘संसद् विघटन गरिसकेपछि त्यसबेला नयाँ कमिटी बनाउन उहाँले नै थाल्नुभयो । त्यही विभाजनलाई वैधानिकता दिनका लागि अस्तिको बैठकमा पुराना काम–कारबाहीलाई मान्य हुन्छन् भनेर निर्णय गर्नुभयो । विभाजनको प्रारम्भ उहाँले नै गर्नुभयो,’उनले भने,‘हामीले त ति सबै काम कारबाहीलाई अमान्य गरौं । अदालतले जहाँबाट प्रवेश गर भनेको छ, त्यहीबाट छिरौं । त्यही नै पार्टी एकताको आधारशिला हो भनेका छौं ।’

पहिले, नेकपालाई विभाजन गरेका ओलीले अहिले एमालेलाई छिन्नभिन्न बनाउन खोजेको आरोप उनले लगाए । चैत ४ र ५ गते हुने राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीलाई बलियो बनाउने विषयमा छलफल हुने उनले बताए ।

कमेन्टहरु