शिक्षा

बुटवल कालिका क्याम्पस ९ वर्षमै उत्कृष्ट, सञ्चालकको जग्गा धितो राखेर पुर्वाधार निर्माण

नवलपुर टुडे
२०७९ मंसिर २३ | मध्यान्ह ०६:०८ बजे

बुटवल । ‘जहां इच्छा त्यहां उपाय’ वा ‘खाने मुखलाई जंगाले छेक्दैन’ । नेपाली समाजमा प्रचलित यस्तै उखान व्यवहारमा प्रमाणित गरेको छ बुटवल कालिका क्याम्पसले ।

२०७० सालसम्म कक्षा १२ उत्तिर्ण गरेपछि बुटवलको कालिका मानवज्ञान माविका विद्यार्थीहरुलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय उच्च शिक्षा कहां पढ्ने भन्ने पिरलो हुन्थ्यो । किनकि कालिका देशकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय थियो । जहां ८ हजार बढी विद्यार्थी पढ्छन् ।

कालिकाबाट १२ कक्षा उत्तिर्ण विद्यार्थीहरु उच्च शिक्षा पनि कालिकामै भइदिए हुन्थ्यो भन्ने आशा राख्थे । तिनै मध्येकी एक विवाहित छात्रा प्रतिमा बस्यालले एक दिन कालिकाका प्राचार्य घनश्याम पाठकसंग भनिन्–‘हामीलाई कालिका छाड्दा माइती घर छाडे जस्तै हुन्छ,कालिकाले बीबीएसको पढाई पनि शुरु गर्नुप¥यो ।’

प्रतिमाको यो आग्रहले घनश्यामको मन छोयो र लगत्तै उच्च शिक्षाका कक्षाहरु शुरु गर्ने पहल थाले । विद्यार्थीको चाहनालाई मध्यनजर गरेर २०७० मा कालिका माविका शिक्षक र शिक्षाप्रेमीहरुकै अग्रसरतामा बुटवल कालिका क्याम्पस स्थापना भयो ।

शुरुमा ३५ जना विद्यार्थीबाट बीबीएस पढाईबाट हुने क्याम्पसमा नयां नयां विषयको पनि माग हुन थाल्यो । फलस्वरुप २०७५ मा ब्याचलर अफ कम्प्युटर एप्लीकेसन (बीसीए) को पढाई शुरु भयो ।
विद्यालयको जस्तै चुस्त व्यवस्थापन, दक्ष शिक्षकबाट प्रयोगात्मक र विद्यार्थी केन्द्रीत सिकाई पद्दतिले बीसीएतर्फ क्याम्पसले पहिलो ब्याचमै शतप्रतिशत (३५ जना) विद्यार्थी उत्तिर्ण गराउंदै नेपाल प्रथम भयो ।

उत्कृष्ट नतिजा देखेपछि क्याम्पसमा रुपन्देही मात्र होइन लुम्बिनी र छिमेकी प्रदेशका जिल्लाबाट समेत विद्यार्थीहरुको आकर्षण र चाप बढ्न थाल्यो ।
२०७७ सम्म विद्यालयकै कक्षा कोठा भाडामा लिएर चल्दै आएको क्याम्पसलाई आफ्नै जग्गामा पुर्वाधारको अभाव खड्कियो ।
जग्गा र पुर्वाधार कसरी बनाउने भन्ने पिरलोमा रहेको क्याम्पसका लागि रुपन्देही २ का सांसद एवं तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बुटवल रामनगरमा १० कठ्ठा सार्वजनिक जग्गा प्राप्तिमा सहयोग गरे ।

‘जग्गा प्राप्तिमा पुर्व अर्थमन्त्री विष्णु पौडेलको ठूलो सपोर्ट भयो’–बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकले भने–‘जग्गा प्राप्तिपछि भवन निर्माणका लागि पनि पौडेलले ६ करोड रुपैयां वजेट दिएपछि क्याम्पसको आफ्नै भवन बनाउन सहज भयो ।’
सरकारबाट आएको वजेट मात्र पुर्वाधार बनाउन पर्याप्त थिएन । त्यसैले क्याम्पस प्रमुख सहित सञ्चालक समितिमा रहेका पदाधिकारीको जग्गा बैंकमा धितो राखेर २ करोड कर्जा लिएर भवनलाई पूर्णता दिएको क्याम्पस सञ्चालक समिति अध्यक्ष अर्जुनमान सैंजूले बताए । ‘आफैबाट शुरु नगरी अरुलाई सहयोग माग्न मिलेन, त्यसैले क्याम्पस प्रमुख र सञ्चालक समेतको जग्गा धितो राखेर २ करोड कर्जा लिएर भवन बनाउन थालेका थियौं’–सैंजूले भने–‘हाम्रो लगाव देखेर सरकारी निकायबाट पनि सहयोग पाउन सजिलो भयो ।’
हालसम्म १५ करोड बढी लगानी भइसकेको बुटवल कालिका क्याम्पसमा ५२ वटा कक्षा कोठा, ८ वटा प्रयोगशाला, एक हजार जना क्षमताको सभा हल, दुई वटा सेमिनार हल, गेष्ट हाउस र क्यान्टिन सहितका पुर्वाधारहरु बनेका छन् । भौतिक पुर्वाधार वाहेक क्याम्पसमा ८२ लाखका फर्निचर,७३ लाखका कम्प्युटर र लयाब,६५ लाखका २ विद्यार्थी बोक्ने बस तथा करिब २० लाख रुपैयांका पुस्तक र खेलकुद सामग्री रहेका क्याम्पसले जनाएको छ ।
बीसीएमा २०७५ र २०७९ गरी दुई पटक शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराएको क्याम्पसका छात्र मनिराज गौतमले २०७८ सालको बीसीएतर्फ ३.९५ जीपीए प्राप्त गरी नेपाल प्रथम भएका थिए । ‘९ वर्षको छोटो अवधिमा पुर्वाधार र गुणस्तरमा उत्कृष्ट भई इतिहास रचेका छौं’–क्याम्पस प्रमुख पाठकले भने–‘जहां इच्छा त्यहां उपाय भन्ने भनाईलाई हामीले व्यवहारमा प्रमाणित गरेका छौं ।’
कालिका क्याम्पस खुलेपछि बुटवल वहुमुखी क्याम्पसमा विद्यार्थी आउंदैनन् भनेर मुद्दा हालेर रोक्ने प्रयास पनि भएको तर विद्यार्थी र अभिभावकको साथले त्यो प्रयास असफल भएको थियो ।

मासिक शुल्क १२ सय मात्र भएकाले क्याम्पसमा विद्यार्थीको चाप माग भन्दा बढी छ । बीसीएसको ३५ सिटका लागि ३०० जनासम्मले आवेदन दिने गरेका बीसीए कोअर्डिनेटर आशिष न्यौपाने बताउंछन् । पालिकापत्रबाट साभार

कमेन्टहरु