प्रतिनिधि सभा बैठक आज दिउसाे ४ बजे बस्दै


फागुन २३, काठमाण्डाै।
प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै छ । सर्वोच्च अदालतको आदेशपछि सरकारले आजको संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सोही आधारमा आज दिउँसो ४ बजे बैठक बस्दै छ।
आजको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा र मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ ।
सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्नुहुनेछ ।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवैधानिक परिषद (काम, कर्तव्य र अधिकार कार्यविधि) सम्बन्धी (पहिलो संसोधन) अध्यादेश, २०७७’ पेश गर्ने कार्यक्रम रहेको छ ।

गृहमन्त्री रामबहादुर थापाले विभिन्न अध्यादेशहरू पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७७ पेश गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले पनि विभिन्न अध्यादेशहरू पेश गर्ने कार्यसूची रहेको छ।
फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७, यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ पेश गर्नुहुनेछ ।























