लिङ्ग परिवर्तन गर्दै पुरुषबाट महिला भएकी सञ्जीवनीले पाइन् नागरिकता


मकवानपुर । मकवानपुरमा तेस्रोलिङ्गी सञ्जीवनी लोप्चनले नागरिकता परिवर्तन गरेकी छन् । १४ वर्ष अगाडि जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट पुरुषका रुपमा लिएको नागरिकता फिर्ता गर्दै उनले महिलाका नाममा नागरिकता लिएकी हुन् ।
मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–३ की ३१ वर्षीया लोप्चनले १४ वर्षअगाडी सजीव लोप्चनको नाममा लिएको नागरिकता फिर्ता गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट महिला (सञ्जीवनी) को नाममा नागरिकता लिएकी हुन् ।
आफू पुरुष भएपनि महिला सरहको चाहना आफूमा देखिएको महसुस भएपछि पुरुषको नाममा बनेको नागरिकता आफैलाई असुहाउँदो लाग्न थालेकाले नागरिकता परिवर्तन गरेको उनको भनाइ छ । धेरै कठिनाइको सामना गर्दै आफूले महिलाका रुपमा नागरिकता प्राप्त गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले नेपालको कानुनअनुसार लोप्चनको नागरिकता परिवर्तन गरेको बताए । लोप्चनले थाइल्याडबाट लिङ्ग परिवर्तन गरेको अस्पतालको प्रमाणपत्रका आधारमा नागरिकता प्रदान गरिएको गर्तौलाले नवलपुर टुडेलाई बताए ।
यसअघि मकवानपुरबाट पहिलो पटक अजिता भुजेलले तेस्रोलिङ्गीका रुपमा नागरिकता प्राप्त गरेकी थिइन् । मकवानपुरबाट तेस्रोलिङ्गीबाट लिङ्ग परिबर्तन गरि महिलाको नाममा नेपाली नागरिकता लिने सञ्जीवनी दोश्रो हुन ।






















