देश

प्रधानमनन्त्रीका कारण देशकै बेइज्जत भयो, हाम्रो शिर निहुरियो : उच्च सुरक्षा अधिकारी

नवलपुर टुडे
२०७७ फाल्गुन १८ | मध्यान्ह ०५:११ बजे

काठमाडौ । १८ फाल्गुन मंगलबार, चारवटै सुरक्षा निकायका तीन सयभन्दा धेरै सुरक्षाकर्मीको घेरा भित्र रहने नेपालका प्रधानमन्त्री केपी ओलीले आफू असुरक्षित रहेको बताएका छन् । देशको सुरक्षा व्यवस्थाको कमाण्ड सम्हालिरहेका आफ्नै गृहमन्त्री रामबहादुर थापा बादल मञ्चमै रहेको कार्यक्रममा सोमबार उनले आफूमाथि भौतिक हमला हुन सक्ने बताए ।

पार्टीलाई नेतृत्व गरी आफैले ठीक ढंगले अगाडि बढाइरहेको र सरकार पनि गतिशील भई सञ्चालन गरिरहेको हुनाले आफू माथि प्रहार भइरहेको जनताले देखिरहेको उल्लेख गर्दै, सम्पूर्ण रूपमा आफू माथि अत्यन्तै तीव्र ढंगले प्रहार भएको बताए । आफु माथि कुनै शारीरिक हमला नै भयो भने पनि अनौठो नमान्न पोखरामा आयोजीत नेकपाको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले भने, तर मंचबाट उनले त्यस्तो हुन नदिने र सतर्कता अपनाउने बताए । उनि रहिनँ भने पनि केही नभएको र पार्टी छ, आन्दोलन छ, उनले भने ।

तर, सुरक्षा निकायको निष्कर्षमा भने प्रधानमन्त्री ओलीलाई त्यस्तो कुनै ‘थ्रेट’ छैन । बरु, प्रधानमन्त्रीको अभिव्यक्ति प्रति सुरक्षा निकायका उच्च अधिकारी असन्तुष्ट देखिएका छन् । प्रधानमन्त्रीको भाषणको खण्डन गर्नुपर्ने भएकाले यस विषयमा सुरक्षा निकायका अधिकारीहरु औपचारिक रूपमा भने बोल्न चाहँदैनन् । ‘प्रधानमन्त्रीको भाषणले हाम्रो शिर निहुरिएको छ,’ देशकै बेइज्जत भएको छ । एक उच्च प्रहरी अधिकारीले भने, ‘उहाँले आफ्नो फाइदाका लागि सुरक्षाकर्मी र देशको बेइज्जत गर्नुभएको छ ।’

प्रधानमन्त्रीको सुरक्षामा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली चौबीसै घन्टा तैनाथ रहन्छ । बालुवाटारस्थित सरकारी निवासदेखि सिंहदरबारस्थित कार्यालयसम्म सेनाको नेतृत्वमा कडा सुरक्षा व्यवस्था हुन्छ । बालुवाटारबाहिर निस्कँदा पनि प्रधानमन्त्रीलाई गुप्तचरबाहेकका तीनवटै निकायका कम्तीमा तीस सुरक्षाकर्मीले स्कर्टिङ गर्छन् ।

फेरि पनि प्रधानमन्त्री ओलीले किन असुरक्षित महसुस गरे त ? राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माका अनुसार लोकप्रियता घटेपछि जनताको सहानुभूति बटुल्न प्रधानमन्त्रीको यस्तो भनाइ आएको हुन सक्ने अधिकारीले बताए । ‘प्रधानमन्त्रीको अभिव्यक्ति लज्जास्पद छ । लोकप्रियता गुम्दै गएपछि देशका लागि केही गर्न खोज्दा खोज्दै आफ्नो हत्या गर्न खोजिएको छ भनेर सहानुभूति लिन खोजेको जस्तो लाग्यो,’ उनले भने, ‘तर, यो देश र सुरक्षा निकायको लागि राम्रो होइन ।’

नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले पनि प्रधानमन्त्री ओलीले गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए । ‘यस्ता कुराले सुरक्षा निकायको पूरै ‘मोरल डाउन’ हुन्छ । सुरक्षाकर्मी त निकम्मा रहेछन् भन्ने सन्देश बिश्वभर जान्छ,’ उनले भने, ‘मनोवैज्ञानिक रूपमा तीन करोड नेपालीले त असुरक्षित महसुस गर्ने नै भए, विदेशीलाई समेत त्यसको असर पर्छ । देशकै प्रधानमन्त्रीले नै सुरक्षित छैन भन्छन् भने त्यो देश त असुरक्षित रहेछ, त्यस्तो देशमा किन जाने भन्ने हुन्छ ।’

प्रधानमन्त्रीनिवास बालुवाटारमा सेनाका लेफ्टिनेन्ट कर्नेलको नेतृत्वमा करिब दुई सय सैनिक खटिएका छन् । पेरिमिटरदेखि गेटको सुरक्षासमेत सेनाले हेर्छ । त्यस्तै, नेपाल प्रहरीबाट डिएसपीको कमान्डमा ७५ जना प्रहरी बालुवाटारको सुरक्षामा खटिएका छन् । प्रधानमन्त्रीको सुरक्षामा खटिने सशस्त्र प्रहरीको संख्या दुई महिनाअघि मात्रै २८ बाट बढाएर ३५ पु¥याइएको थियो । राष्ट्रिय अनुसन्धान विभागबाट पनि डिएसपीको नेतृत्वमा पाँचजना बालुवाटारमा खटिन्छन् ।

प्रधानमन्त्री कार्यालय रहेको सिंहदरबार बाउन्ड्रीभित्रै सेनाको गण छ । त्यस्तै, डिएसपीको नेतृत्वमा एक सय २० प्रहरी रहेको सिंहदरबार सुरक्षा गुल्म पनि प्रधानमन्त्री कार्यालय छेउमै छ । राष्ट्रिय अनुसन्धान विभागको मुख्यालय पनि सिंहदरबार परिसर भित्रै छ ।

बालुवाटारबाट बाहिर निस्कँदा पनि प्रधानमन्त्रीलाई सुरक्षाकर्मीका कम्तीमा चारवटा गाडीको स्कर्टिङ हुन्छ, जसमा करिब ३० सुरक्षाकर्मी रहन्छन् । सुरुमा नेपाल प्रहरी, त्यसपछि सेनाको गाडी कुद्छ । त्यसपछि प्रधानमन्त्री सवार गाडी रहन्छ । प्रधानमन्त्रीको गाडीपछि फेरि सेना र अन्तिममा सशस्त्र प्रहरीको स्कर्टिङ हुने गरेको छ ।

प्रधानमन्त्री सहभागी रहने सार्वजनिक कार्यक्रमहरूमा सेनाले विशेष हतियारसहितका सैनिक सादा पोसाकमा खटाउने गरेको छ । गत ३ फागुनमा सिंहदरबारमा आयोजित कार्यक्रममा पनि विशेष हतियारसहित सादा पोसाकमा सैनिकसमेत खटाइएको थियो । नयाँ पत्रिकाबाट

कमेन्टहरु