तिलक परियारलाई पदमुक्त गरेर ओलीले दलित समुदायकै अपमान गरे : प्रचण्ड


काठमाडौ । सरकारले प्रदेश नंबर २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टी ब्यक्त गरेका छन् । उनले २ नम्बर प्रदेश प्रमुख परियारलाई पदमुक्त गरिनु निरंकुशता र संविधानको हुर्मत लिने निचताको पराकाष्टा भएको बताएका छन् । साथै देशको सिङो दलित समुदाय माथि नै अपमान भएको बिचार ब्यक्त गरेको प्रचण्डको निजि सचिवालयले जनाएको छ ।
प्रचण्डका निजी सचिव समेत रहेकी छोरी गंगा दाहालले शुक्रबार साँझ फेसबुक मार्फत अध्यक्ष प्रचण्डको धारणा सार्वजनिक गरेकी हुन् । सरकारले शुक्रबार प्रदेश २ का प्रमुख रहेका परियारलाई पदमुक्त गर्दै उनको स्थानमा राजेश झा अहिराजलाई नियुक्त गरेको छ । नवनियुक्त प्रदेश प्रमुख झाले आजै राष्ट्रपतिबाट सपथ समेत लिइसकेका छन् ।
नेकपा २ धारमा विभाजन भएपछि तत्कालीन माओवादी केन्द्रको कोटाबाट प्रदेश प्रमुखको रुपमा सिफारिस भएर नियुक्त भएका परियारलाई प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएका हुन् । केहीदिन पहिले परियारका स्वकीय सचिव र प्रधानमन्त्री ओलीका विश्वासपात्र समेत रहेका नेपाल रेल्वे कर्पोरेशनका महाप्रवन्धक गूरु भट्टराई बिच टेलिफोनमा एकअर्का विरुद्ध धम्कीपूर्ण गालीगलौज भएको सार्बजनिक भएको थियो । परियारले सोही विषयको रिसइवी साँध्न आफूलाई प्रधानमन्त्रीले पदबाट हटाएको प्रतिक्रिया दिएका छन् ।






















