देश

तनहुँ देवघाट गाउँपालिकाको कालीटार, कोटा र गोपीटारमा राष्ट्रिय प्रशारण लाइनको विद्युत जडान

नवलपुर टुडे
२०७७ फाल्गुन ७ | मध्यान्ह ०९:११ बजे

दमौली । सहज रुपमा विद्युत सेवा उपभोग गर्नबाट बञ्चित रहेका तनहुँको कछार क्षेत्र देवघाट गाउँपालिकाका बिकट बस्तिमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा पुगेको छ । देवघाट गाउँपालिकाको वडा नम्बर १ को कालीटार, कोटा र गोपीटारका बासिन्दाले बिजुली बत्ती बाल्न थालेका छन् । गाउँपालिकाको वडा नम्बर ५ स्थित देवपुरबाट ११ केभी लाइनमार्फत ती गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा विस्तार गरिएको हो । लघु जलविद्युत मार्फत विद्युत् आपूर्ति भइरहेको यी गाउँमा राष्ट्रिय ग्रिड पुगेकाले अब त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने बताइएको छ ।

तनहुँमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत विद्युत् विस्तार गरिएको हो । नेपाल विद्युत प्राधिकरण मार्फत कार्यान्वयन भइरहेको कार्यक्रम तनहुँलाई पूर्ण विद्युतीकरण गरिने भएको छ ।

त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको ११ केभी लाइन र ३ वटा ट्रान्सर्फमर बिहीबार संचालन (चार्ज) गरिएको तनहुँ विद्युतीकरण आयोजनाका साइट इन्चार्ज लक्ष्मण रेग्मीले नवलपुर टुडेलाई जानकारी दिए । लाइन र ट्रान्सफर्मर जडान गरी चार्ज गरेका छौं । तनहुँ वितरण केन्द्रले अब उपभोक्ताको घर घरमा मिटर जडान गरिने छ’, उनले भने, ‘लाइन पुगे पछि त्यस क्षेत्रका करिब ५ सय घरधुरी लाभान्वित हुनेछन् ।’

विद्युत आपूर्तिका लागि कालीटार, कोटा र गोपीटारमा एक/एक वटा ट्रान्सफर्मर राखिएको छ । केही दिनअघि तनहुँ घिरिङ गाउँपालिका -१ मा पनि राष्ट्रिय प्रसारण लाइन पुर्‍याई विद्युत् आपूर्ति सुरु गरिएको छ ।

तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत तनहुँमा विद्युतीकरण गर्न प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय मार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन गर्न इष्ट इन्डिया उद्योग/वाइवा इन्फ्राटेक जे.भी.सँग १३ मंसिर २०७५ मा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौताको रकम अमेरिकी डलर ६१ लाख ५३ हजार अमेरिकी डलर र १४ करोड ८८ लाख रुपैयाँ रहेको छ । ठेकेदार कम्पनीले विद्युतीकरण नभएका क्षेत्रको पहिचान गरी सर्भे तथा डिजाइन सम्पन्न गरिसकेको छ । कम्पनी ३३/११ केभी वितरण लाइन निर्माण गर्ने छ । कार्यक्रम अन्तर्गत नै बन्दिपुर गाउँपालिकाको सराङघाट र घिरिङ गाउँपालिकामा सबस्टेसन निर्माणाधीन छन् । ग्रामीण विद्युतीकरण अन्तर्गतका सम्पूर्ण कामहरु यसै आर्थिक वर्षमा सक्ने लक्ष्य राखिएको छ ।

कमेन्टहरु