नेकपा प्रचण्ड – नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै, आजै आयोग जाने सम्भावना


काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी आन्दोलनरत नेकपाको प्रचण्ड – नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरमा केन्द्रीय कमिटीको बैठक बस्ने नेता लीलामणि पोखरेलले नवलपुर टुडेलाई जानकारी दिनुभयो ।
केही बेरमा बस्ने बैठकमा पार्टीको आधिकारिकता दाबी, निर्वाचन आयोगमा आफूहरुको उपस्थिति सर्वोच्च अदालतले गर्न सक्ने फैसला लगायतका बारेमा छलफल हुने नेता पोखरेलको बताए । नेकपाको प्रचण्ड-नेपाल समूहले सबै सदस्यलाई नागरिकता र पार्टीको परिचयपत्र लिएर पेरिसडाँडामा उपस्थित हुन भनेको छ ।
बहुमत सदस्यको नागरिकता र पार्टीको परिचयपत्र बोकेर अध्यक्षद्वय प्रचण्ड – माधवकुमार नेपालसहितका नेताहरु आज नै आयोग जाने भनिए पनि आज नै आयोग जाने सम्भावना भने कम रहेको नेकपाको प्रचण्ड – नेपाल समूहका नेताहरुले बताएका छन् ।
प्रतिनिधिसभा विघटनपछि चौथो चरणको आन्दोलनमा रहेको प्रचण्ड – नेपाल समूहले निर्वाचन आयोगमा वैधानिकताका लागि निवेदन दिएको छ । तर आयोगले यसबारे कुनै चासो नदेखाएको भन्दै आन्दोलनरत प्रचण्ड – नेपाल समूह आयोग संग असन्तुष्ट छ । आयोगले मध्यावधि चुनावको तयारीलाई भने अघि बढाएको छ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गरेपछि नेकपाको प्रचण्ड – नेपाल समूह असन्तुष्ट जनाउदै, चौथो चरणको आन्दोलनमा छ ।






















