राजनीति

राष्ट्रिय सभाबाट छवटा विधेयक पारित

नवलपुर टुडे
२०७९ असार १८ | बिहान ०८:०३ बजे

काठमाडौँ, असार १८ गते । राष्ट्रिय सभा बैठकबाट छवटा विधेयक पारित भएका छन् । शुक्रबार बसेको बैठकबाट बजेट आश्रित तीन र अन्य तीन विधेयक पारित भएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसदहरूको बहिष्कारका बीच बजेट आश्रित आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौँ संशोधन) विधेयक, २०७९ पारित गरिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले विधेयक पारितका लागि बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । तीन विधेयकमाथिको दफावार छलफलसहित पारित गरिएको हो । यसैगरी औषधि (तेस्रो संशोधन), २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक र रेल्वे विधेयक, २०७९ सर्वसम्मतिले पारित गरिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले औषधि (तेस्रो संशोधन) २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

कमेन्टहरु