देश

प्रचण्ड – नेपाल नेतृत्व नेकपाको आमहड्तालमा देशैभरि ठप्प

नवलपुर टुडे
२०७७ माघ २२ | बिहान ०९:१० बजे

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले आज देशव्यापी आमहड्ताल आयोजना गरेको छ । उक्त समूहको आमहड्तालले देशैभरी नागरिकको जीवन प्रभावित भएको छ । काठमाडौंसहित देशैभरि हड्तालको प्रभाव परेको छ । राजधानीमा सार्वजनिक र निजी गाडी फाट्टफुट्टमात्र चलेका छन् । मोटरसाइकल भने बाक्लै रूपमा चलेका छन् । केही खाद्यान्न किराना पसल पनि खुलेका छन् । अहिले भर्खरै राजधानीबाट धेरै संख्यामा प्रहरी परिचालन गरि बन्दकर्तालाई पक्राउ गरेको छ । तर काठमाडौमा भर्खरै वीर अस्पतालमा कार्यरत डाक्टरको गाडिमाथी तोडफोड गरिएको छ ।

पोखराबाट काठमाडौंका लागि छुटे १० माइक्रो

नेकपा प्रचण्ड–नेपाल समुहले आयोजना गरेको आमहड्तालका दिन १० वटा माइक्रोबस पोखराबाट काठमाडौंका लागि छुटेका छन् । प्राप्त समाचार अनुसार पोखराबाट यात्रुवाहक माइक्रो बस काठमाडौंका लागि छुटेको र कास्कीबाट कटिसकेको प्रहरीले नवलपुर टुडेलाई जनाएको छ ।

बन्दका कारण अहिलेसम्म कुनै अप्रिय घटना हुन नपाएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए । काठमाडौं जाने माइक्रोबस बिहीबार बिहानै छुटिसकेको छ, तिनलाई हामीले सुरक्षा दिएर पठायौं’, हमालले भने, ‘केही निजी सवारीहरू चलेका छन्, अप्रिय घटना केही छैन ।’

तर बन्दका कारण पोखरा बजार र सडक पुर्णरुपमा बन्द रहेको बताए । तरकारी तथा फलफूल, पानी, दुध, इन्धनलगायत अत्यावश्यक सेवाका सवारी र पसल भने खुला नै छन् ।
बन्दमा अप्रिय घटना हुन नदिने अन्य दिनभन्दा धेरै प्रहरी परिचालन गरेको डिएसपी हमालले बताए ।

काठमाडौस्थित मित्रपार्कमा बस र गोंगबुमा टाटासुमो तोडफोड, बन्द गराउँदै हिँड्ने ७५ जना पक्राउ

आमहड्तालमा उत्रिएका नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले राजधानीमा केही सवारी साधनमा तोडफोड गरेका छन् । आज बिहानै बन्द गर्न हिँडेका कार्यकर्ताले काठमाडौंको मित्रपार्कमा एउटा बस र गोंगबुमा टाटासुमोमा तोडफोड गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले जानकारी दिए । आमहड्ताल गर्न निस्किएका ७५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोंगबुमा ट्याक्सीमा आगजनी

काठमाडौंको गोंगबुमा ट्याक्सीमा आगजनी भएको छ । आज आमहड्ताल आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले ट्याक्सीमा आगजनी गरेका हुन् ।
बिहीबार बिहान प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले नवलपुर टुडेलाई जानकारी दिए । ‘प्रदर्शनकारीहरूले आगजनी गरेर गएका छन्,’उनले भने । ट्याक्सी धादिङका खुम्ब नारायण श्रेष्ठको हो । प्रहरीले ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ । ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको छ ।
बिहीबारको आमहड्तालको बिहानै प्रचण्ड-नेपाल निकट अनेरास्ववियूले ललितपुरको पाटनस्थित पाटन संयुक्त क्याम्पसअगाडि टायर बालेर प्रदर्शन गरेको थियो । बिहानै बालिएको टायर प्रहरीले निभाएको थियो । त्यसपछि पनि प्रहरी र विद्यार्थीबीच टायर तानतान भएको थियो ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध विभिन्न आन्दोलन गरिरहेको प्रचण्ड-नेपाल समूहले बुधबार संसदीय सुनुवाइबबिनै संवैधानिक निकायका पदाधिकारीहरूको सपथ भएपछि हड्ताल आयोजना गरेको हो ।

अष्टलक्ष्मी शाक्यसहितका नेता प्रहरी नियन्त्रणमा
प्रहरीले आमहड्ताल आयोजना गर्ने नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्तालाई नियन्त्रण लिएको छ ।
नेकपा स्थायी कमिटी सदस्य सहित रहेका अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, केन्द्रीय कमिटी सदस्य अमृता थापा सहित नेता कार्यकर्तालाई प्रहरीले कलंकीबाट पक्राउ गरेको केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिए ।

पश्चिम दाङका चोकमा बन्दकर्ता, यातायात ठप्प
आमहड्तालको प्रभाव दाङ र आसपासका जिल्लाहरुमा बिहानैदेखि परेको छ । प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गमा कुनै पनि यातायातका सवारी साधन चलेका छैनन् ।
वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले बिहान साढे ६ बजेसम्म राजमार्गमा निजी सवारी साधन मात्रै फाट्टफुट्ट चलेको जानकारी दिए ।

अहिलेसम्म बस समितिका सबै काउन्टर बन्द छन्, कुनै बस सञ्चालनमा आएको देखिएको छैन । अहिलेसम्म बजार पनि बन्द छ,’ उनले नवलपुर टुडेसँग भने, ‘हेरौं नौं दश बजेपछि बजार तथा पसलहरु सञ्चालनमा आउछन् कि?’
जिल्लाका प्रमुख बजार तुलसीपुर, घोराही पनि बन्द नै छन् । उद्योग करकारखाना सबै बन्द छन् । आमहड्तालको पूर्व सन्ध्यामा बुधबार बेलुका प्रचण्ड–नेपाल समूहले जिल्लाका बिभिन्न शहरमा राँके जुलुस पर्दशन गर्दै कडा खाले बन्दको चेतावनी दिएकाले सर्वसाधारणमा त्रास फैलिएको छ ।

यता एका बिहानै बुटवलमा पनि बन्दको प्रभाव देखिएको छ । बुटवलमा पनि आमहड्तालको प्रभाव परेको छ । बिहानैदेखि राजमार्ग र बजार बन्द छ । बुटवलमा केपी शर्मा ओली समूहका कार्यकर्ताले बन्दको प्रतिकार गर्ने बताएका थिए तर अहिलेसम्म उनीहरू सडकमा देखिएका छैनन् ।

कमेन्टहरु