राजनीति

सरकारले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न सक्दैन : काँग्रेस महामन्त्री शर्मा

नवलपुर टुडे
२०७९ असार १५ | मध्यान्ह ०४:०३ बजे

काठमाडौं, असार १५ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो दाबी गरेका हन् ।

उनले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थता भन्नुपर्ने बताएका छन् । महामन्त्री शर्माले नेपालले छिमेकी राष्ट्र चीन र भारतलाई नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने तर लिजमा बाटो दिने र उपहार प्रोजेक्ट लिन चाहने प्रस्ताव राख्नुपर्ने बताए ।

नेपाल गरिब राष्ट्र भएकोले दुवै देशको व्यापारका लागि बाटो भाडामा उपलब्ध गराउने कुरा चीन र भारतलाई भन्नुपर्ने उनले बताए । नेपालले आफ्नो ढुकुटीको पैसा लगानी गरेर सहुलियत ऋणमा मेची–महाकाली रेल बनाउन सक्नेतर्फ ध्यान दिनुपर्ने महामन्त्री शर्माको भनाइ छ ।

उनले अहिले केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन गरिरहेको भएपनि रेल कहाँबाट ल्याउने र सक्छौँ, सक्दैनौँ भन्ने आधार नै नरहेको बताए । एउटै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित गर्न नसकेको भन्दै शर्माले एउटाबाट दोस्रोमा जानुपर्ने बेलामा एकैपटक ४ वटामा प्रवेश गर्नु गलत भएको बताए ।

उनले चुनावका लागि गरिने प्रतिवद्धतामा ध्यान दिनुपर्ने भन्दै चुनाव लागेकै कारण विमानस्थल बनाउँछु भनेर गलत सूचना दिन र गर्न नसकिने प्रतिवद्धता व्यक्त गर्नु नहुने बताए । महामन्त्री शर्माले गलत सूचनाको असर एमसीसीमा पनि परेको बताए ।

कमेन्टहरु