ढल्याे ओली र बिष्णु पौडेलकाे किल्ला, बुटवलमा प्रचण्ड-नेपालकाे लालझण्डा (फाेटाेफिचर) सहित


बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विभाजन नभएपनि दुई पार्टी जसरी कार्यक्रम गर्दै आएको नेकपाको विरोधी खेमा पुष्पकमल दाहाल र
माधव कुमार नेपाल पक्षले देशभर विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।
देशैभर चरणवद्ध कार्यक्रम गर्ने क्रममा आज दाहाल-नेपाल समूहले बुटवलमा विरोधको कार्यक्रम राखेपछि कार्यक्रममा हुने उपस्थितिबारे चर्चा हुँदै आएको थियो ।

जसको दबाब पनि सो समूह माथि थियो । जसकारण पनि नेकपाका दोश्रो तहका नेताहरु वर्षमान पुन, युवराज ज्ञवाली, घनश्याम भुसाल, चक्रपाणि खनाल बलदेव, ओनसरी घर्ती नै जनसहभागिता जुटाउन कस्सिएका थिए ।
नेकपाकै ओलीको पक्षका नेताहरु महासचिव विष्णुप्रसाद पौडेल, टोपबहादुर रायमाझी, प्रदीप ज्ञवाली, शंकर पोखरेललगायतका पार्टीमा प्रभाव राख्ने व्यक्तिहरुको समेत दबदबा रहेकाले सहभागिता जुटाउन कसरत गर्नुपर्ने देखिन्थ्यो ।
तर, केन्द्रीय अध्यक्षहरु र शीर्ष तहका नेताहरु नै कार्यक्रममा आउने भएकाले सो दबाबलाई चिर्दै नेताहरुले विपक्षीले अनुमान गरेको भन्दा धेरै सहभागिता जुटाउनुपर्ने बाध्यता थियो ।

बुटवलको अस्पताललाईन स्थित लुम्बिनी प्रादेशिक अस्पतालको खुला भागमा आयोजित सभामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाको सहभागिता रहेको संघर्ष समितिका संयोजक ठाकुर गैरेले नवलपुर टुडेलाई जानकारी दिए ।
उनका अनुसार विपक्षीले अपेक्षा गरे भन्दा धेरै जनसहभागिता रहेको बताए । अध्यक्षद्वय प्रचण्ड र नेपालले पनि विशाल बिरोध सभाको चर्चा गरे । दुवै नेताले बुटवलबाटै अरु आन्दोलनहरुको नेतृत्व भएको भन्दै यो आन्दोलनको शुरुवात भएको बताए ।

अध्यक्ष नेपालले बुटवलमा राजतन्त्र हटाउन र त्यस अघिदेखि नै ठूला ठूला परिवर्तनहरुमा बुटवल बासी उल्लेख्य सहभागिता हुने गरेको स्मरण गरे । अध्यक्ष नेपालले भने (यो जनसहभागिताले अब केपी ओलीलाई सरकारबाट बाहिर निकाल्छ र जनताको जित हुने बताए ।

अर्का अध्यक्ष प्रचण्डले राणाकाल देखि नै बुटवलले परिवर्तनका पक्षमा आवाज उठाएको र सफल भएको उल्लेख गर्दै बुटवलको सहभागिताको चर्चा गर्दैं भने,’यो तपाइँहरुको सहभागिताले जनताको आन्दोलन र आवाजलाई अरु बलियो बनाएको छ, प्रतिगमनलाई हामीले पराजित गरेरै छाड्छौं ।






















