कांग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक आज बस्दै


माघ १३,काठमाडौं ।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा जाने कि अदालतको निर्णय पर्खने भन्ने अलमलमा रहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।
आज मंगलबार पार्टी कार्यालय सानेपामा १ बजेका लागि बोलाइएको बैठकमा संसद विघटन र महाधिवेशनको तयारीका बारेमा छलफल हुने बताइएको छ ।
तर संसद विघटन विरुद्धमा आन्दोलनको घोषणा हुने वा नहुने भन्नेमा भने कुनै टुंगो नभएको संबन्धित नताहरुले बताएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा तत्काल आन्दोनको घोषणा गरिहाल्ने पक्षमा नरहेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बुझाइ छ ।
तर केही दिनअघि माधव नेपालसँगको भेटपछि भने सभापति देउवाले आन्दोलनको पक्षमा अभिव्यक्ति दिएका थिए ।
वैशाखमा तोकिएको निर्वाचन भएको खण्डमा त्यसको लाभ सबैभन्दा बढी कांग्रेसलाई हुने भन्दै उनी आन्दोलनको पक्षमा लागि हाल्ने अवस्था नबन सक्ने कतिपयको अनुमान छ ।
देउवाले अदालतमा बहस जारी रहँदा अदालतलाई प्रभावित पर्नेगरि आन्दोलन गर्न नहुने बताइरहेको भन्दै उनी अझै थप आन्दोलनका लागि तयार नभएको संस्थापन पक्षका एक नेता बताउँछन् ।
बैठकको अघिल्ला दिन आज दुई महामन्त्रीसहित दुबै पक्षका नेताहरुको बैठकमा पौडेल पक्षका नेताहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेर अघि बढ्नुपर्ने बताएको भएपनि देउवा पक्षकाले भने सभापतिसँग छलफल गर्नुपर्ने बताएका थिए ।
आजै महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बसेको पौडेल पक्षका नेताहरुले संसद विघटन विरुद्ध आन्दोलनका लागि थप कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए ।























