देश

‘को हुन् दलित ?’ पुस्तक विमोचन

नवलपुर टुडे
२०७७ माघ ११ | मध्यान्ह ०६:१० बजे

नवलपुर टुडे ,धरान ।
लेखक तथा पत्रकार तारा लामगादेद्वारा लिखित दलित समुदायको ऐतिहासिकता, वर्तमान अवस्था र मुक्तिको कार्यदिशासहितको खोजमुलक पुस्तक ‘को हुन् दलित ?’ लोकार्पण भएको छ ।
माघ ११ गते धरानमा पुस्तकको विमोचन एक नम्बर प्रदेश सांसद उमिता बराइलीले गरेकी छन् ।
उनले पुस्तक विमोचन गर्दै पुस्तकले दलित आन्दोलनको ठोस कार्यदिशा निर्धारण गर्न गहन अध्ययनको आवश्यकता रहेको बताइन् । उनले भनिन् ‘पुस्तकले हामीलाई नयाँ छलफलमा जान उत्प्रेरित गरेको छ । पुस्तकलाई सरकारले पाठ्यपुस्तकका रुपमा समावेश गराउँदा जातीय विभेदको अन्त्य गर्न सहज हुनेछ ।’ सांसद बराइलीले पुस्तकले सदियौदेखि उत्पीडनमा रहेको दलित समुदाय ऐतिहासिकताको उत्खनन् गर्दै दलित महासंघको निमार्णमा जोड दिएर दलित मुक्ति आन्दोलनलाई केन्द्रिकृत गर्न सहज हुने बताइन् ।

पुस्तक विमोचन समारोहमा टिप्पणीकर्ताका रुपमा रहेका बरिष्ठ पत्रकार, लेखक तथा विश्लेषक भवानी बरालले पुस्तकबाट उत्पीडित जातिहरुलाई चेतनशील बनाउँदै संगठित बनाएर दलित मुक्ति आन्दोलनको उभार ल्याउने बताए ।

photo 2021 01 24 18 51 12

पुस्तकमा अहिलेसम्मकै दलित समुदायको विषयमा गहन र नयाँ खोजमुलक तथ्यहरु उल्लेख भएकोले दलित आन्दोलनको नयाँ शिरा पलाउने विश्वास व्यक्त गरे । दलित शब्दको सामान्य परिभाषा देखि हडप्पा सभ्यताको समेत उल्लेख गरिएको पाएपछि पुस्तक निकै खोजमुलक र तथ्यपूर्ण रहेको बताए ।

उनले दलितहरु यतिबेला आफ्नो हक, अधिकारका लागि सबैभन्दा अग्रमोर्चामा रहेर संघर्ष गर्नुपर्नेमा जोड दिए । विश्लेषक बरालले भने– ‘दलितहरु अहिले चुप लागेर बस्नु हुँदैन, प्रतिगमनको बिरोध गर्दै दलित मुक्ति आन्दोलन उचाईमा पु¥याउन अघि बढ्नुपर्छ । को हुन् दलित नामक पुस्तकले त्यसको नेतृत्व गर्न सहज बनाउने छ ।’

लेखक तारा लामगादेले हालसम्म दलितसँग सम्बन्धित सम्पूर्ण जिज्ञासालाई समेटेर दलित समुदायको ऐतिहासिकता, वर्तमान अवस्था र दलित मुक्ति आन्दोलनको कार्यदिशा सहितको पुस्तक आफुले ११ वर्षसम्म अथक मिहेनत गरेर तयार पारेको बताए । उनले दलितका विषयमा यसअघि आफुले अध्ययन गरेका सामग्री अपुरो लागेकोले त्यसलाई पूर्णता दिलाउन पुस्तक लेखेको नवलपुर टुडे लाई बताए ।

त्यसैगरी पुस्तकका प्रकाशक महाप्रतिवाद पत्रिकाका कार्यकारी सम्पादक अनिता रसाइलीले पुस्तक प्रकाशन गर्न धेरै चुनौती रहेको भन्दै अब लेखकका कृति सिंगो दलित समुदायको सम्पत्ति बन्ने विश्वास व्यक्त गरेकी छन् ।

photo 2021 01 24 18 51 06

होटल स्टार पूर्वी धरान–१२ चतरालाईनमा सम्पन्न भएको उक्त पुस्तक विमोचन कार्यक्रममा दलित समुदायका नेता तथा कार्यकर्ता, विभिन्न राजनीतिक दलका नेता, संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, सञ्चारकर्मी लगायत सयौंको सहभागिता रहेको थियो । करिब २ सय पृष्ठ रहेको ‘को हुन् दलित ?’ पुस्तकको मुल्य तीन सय रुपैया राखिएको छ । १६ वटा विभिन्न शीर्षकमा ६६ वटा उपशीर्षक रहेका छन् ।

लेखक तथा पत्रकार तारा लामगादेले यसअघि ‘साथी’ कविता संग्रह, माक्र्सदेखि माओसम्म’ पुस्तक, ‘पत्रकारिता’ पुस्तक, ‘मुक्ति कसरी हुन्छ’ पुस्तक, ‘प्रकाश र हाम्रो मिशन’ ‘आमसञ्चार र पत्रकारिता’ र ‘नेपालमा जाति व्यवस्था र दलित मुक्तिको सवाल’ पुस्तक प्रकाशन गरिसकेका छन् । उनी महाप्रतिवाद पत्रिकाका प्रधानसम्पादक हुन् भने समसामयिक विषयमा समेत कलम चलाउदै आएका छन् ।

कमेन्टहरु