हासी खुशी जिन्दगी चल्छ, मेहनत गरे नेपालमै सुन फल्छ ।


झट्ट हेर्दा तस्बिर सामान्य छ। एउटा पिकअप भ्यानले एउटा शव र सँगै सुटकेस बोकिरहेको छ। अरु गाडीमा जस्तै त्यो गाडीमा पनि एउटा गाडी साहित्य छ। लेखिएको छः
“हाँसीखुशी जिन्दगी चल्छ,
मेहनत गरे नेपालमै सुन फल्छ”
त्यो साहित्य अरु समय, ठाउँ र अवस्थामा देख्दा सामान्य नै हो। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तका आँशु छचल्किरहेको अवस्थाको दृश्य भने शक्तिशाली बनेको छ। तस्बिरले त्यस्तो बेला पाठ पढाइरहेको छ, जतिबेला एउटा पढ्नुपर्ने मान्छे त्यसैका माथि शव बनेर लडिरहेको छ। पढ्नुपर्ने अरु धेरै मान्छे आपसमा लडिरहेका छन्।
यो सन्देश पढ्नैपर्ने मान्छे राजनीतिज्ञ हुन्। जसले नेपालमै मेहनत गरेर सुन फलाउने वातावरण कहिल्यै बनाउन सकेनन्। त्यसैको परिणाम आज एकैपल्ट १८ जीवन शव बनेर नेपाल आए। अझै धेरै जीवन शवका रुपमा विदेशी भूमिमा थन्किएका छन्।
नेपालमै सुन फलाउनका लागि राजनीतिक इमान्दारिता, पार्दर्शिता, स्थिरता अनिवार्य शर्त हो। लय समात्नै लागेको राजनीतिले यही बेला फेरि बाटो बिराएको छ। मेहनत गरेर देशमै सुन फलाउन लागिपरेकाहरूलाई समेत भड्काउन थालेको छ। ‘यो देश बन्दैन’, ‘यहाँ केही पनि हुँदैन’ जस्ता विरक्ति बोक्ने वाक्य बाक्लै सुनिन थालेका छन्।
उनीहरू मेहनत गर्नकै लागि पराइ भूमि पुगेका हुन्। ज्यानकै बाजी लगाएर जीवन धान्नुपर्ने नेपाली जीवनका बाध्यताको एउटा परिणतिको तस्बिर हो यो।
शवलाई यो परिस्थितिले भावुक बनाउन सक्छ, यो कटाक्षले घोच्न सक्छ तर राजनीतिज्ञलाई? नेपालका राजनीतिज्ञसँग त शवले पनि सावधान रहनुपर्ने बेला भएको छ, किनभने उनीहरू यहाँ पनि ‘एजेन्डा’ खोजिरहेका हुन सक्छन्!
— दिपेश श्रेष्ठ
सम्पादक- नवलपुरटुडे / मंगाेल खबर डटकम
[email protected]























