देश र जनताकाे निम्ति बलिदानदिने शहीदहरुकाे संझनामा सहिद सप्ताह सुरु


माघ ११,काठमाडौं।
विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले हिजाे माघ १० गत्ते देखि यही माघ १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवस मनाउन शुरु गरेको छ ।
कार्यक्रमको पहिलो दिन हिजाेमाघ १० गत्ते टेकु मचलीस्थित शहीद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थानमा श्रद्धाञ्जलिसभा सम्पन्न गरिएको छ । शास्त्रीको श्रद्धाञ्जलिसभा गरिएको सो स्थानलाई २०३५ सालमा तत्कालीन काठमाडौं नगर पञ्चायतले शिलालेख राखी संरक्षण शुरु गरेको हो ।
श्रद्धाञ्जलिसभामा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पारिवारिकरुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्याउन बलिदानी दिने शहीदको योगदानका कारण नेपालमा गणतन्त्र सफल भएको बताउनुभयो । शुक्रराजको जन्म १९५० सालमा बनासरमा भएको हो । भारतबाटै प्रारम्भिक शिक्षा शुरु गर्नुभएका शास्त्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा काम गर्नुभएको थियो ।
त्यस क्रममा उहाँले पटना, दार्जिलिङ, कोलकत्तालगायत स्थानमा भएका नेपाली भाषीबीच नागरिक अधिकारका विषयमा सङ्गठन बिस्तार गर्न थालिसक्नुभएको थियो । त्यसपछि नेपाल फर्कनुभएका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदाहुँदै पनि शास्त्रीले १९९४ सालमा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गर्नुभएको थियो ।
राणाको विरोध गरेको आरोप लगाएर उहाँलगायत अन्या पाचजना लाई १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान माथि सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो ।
पछि पूर्णनारायणको सजायलाई आजिवन कैदमा परिवर्तन गरियो । यसरी जेल सजाय भोगिरहेकै बेला राणा शासनविरुद्ध देशविदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र धर्मभक्त माथेमालाई सिफल उकालो बकाइनाकाे रुपमा झुण्ड्याएर मृत्यु दण्ड दिइएको थियो ।
त्यस्तै गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानेर मृत्यु दण्ड दिइएको थियो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत माघ १३ गते बिहान ८ः०० बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा र माघ १५ गते बिहान ८:०० बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान शोभा भगवतीमा श्रद्धाञ्जलिसभा आयोजना गरिनेछ ।
सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १६ गते शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदहरुको तस्बीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलिसभामा परिणत हुने जनाइएको छ । त्यस सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहनेछ । विसं २०१२ देखि काठमाडौँ महानगरको संयोजकत्वमा शहीद सप्ताहअन्तर्गतका कार्यक्रम मनाइँदै आएको छ ।
प्रजातन्त्र प्राप्तिका लागि १९९७ सालमा काठमाडौँको विभिन्न स्थानमा सहादत प्राप्त गर्नुभएका चार शहीदको सम्झनामा कामपाले पूर्णकदको प्रतिमा स्थापना गरिसकेको छ । त्यसैगरी कामपाले गएको वर्ष गङ्गालाल श्रेष्ठका नाममा सञ्चालनमा रहेको गङ्गालाल हृदयरोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता गरिसकेको छ ।























