देश

प्राधिकरणकाे कामले बिध्याशुन्दरकाे सुन्दर काठमाण्डाै बनाउने याेजना धुलाम्यमा परिणत

नवलपुर टुडे
२०७७ माघ ४ | बिहान ०९:१० बजे

माघ ४, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भाषणमा नछुटाई एउटा कुरा दोहोर्‍याउँछन्, ‘मेलम्ची खानेपानी आयोजनाको काम सकिएपछि काठमाडौं हिलो-धुलोमुक्त हुन्छ ।’
गत २२ पुसमा मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध कामय भएको घोषणा गर्दा पनि शाक्यले काठमाडौं महानगरपालिकाको धेरै बजेट सडक खन्ने र पुर्ने काममा खर्च भइरहेको बताउँदै निकट भविष्यमै मेलम्चीको काम सकिएपछि सडक सफा हुने बताएका थिए । सडक विभागका अधिकारीहरु भने सडकलाई तुरुन्तै धुलो-हिलोमुक्त गर्न नसकिने निष्कर्ष सुनाउँछन् ।

IMG 20210117 085905 460
कोरोना महामारी नियन्त्रण गर्न गत चैतमा लकडाउन गरिएपछि सवारी नगुडेर चिल्ला देखिएका काडमाडौंका सडकका तस्वीरहरु भाइरल बनेका थिए । त्यतिबेला सडक गज्जबको बनाएको भन्दै वाहवाही कमाएको सडक विभाग अहिले फेरि सडक पुरानै हालतमा पुगेको स्वीकार्छ ।

विभागका अधिकारीहरु मुख्य रुपमा यसका तीन कारण सुनाउँछन्- पहिलो, विभिन्न क्षेत्रमा भइरहेको सडक विस्तार, दोस्रो मेलम्ची आयोजनाको खानेपानीको पाइप बिछ्याउने काम र तेस्रो नेपाल विद्युत प्राधिकरणको बिजुलीको तार बिछ्याउने काम ।
यी काम चलिरहँदासम्म उपत्यकाका सडकलाई हरेक वर्ष अर्बौं खर्चेर सुधार गरे पनि परिणाम प्राप्त नहुने अवस्था देखिएको विभागको भनाइ छ ।

डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपाली उपत्यकाका बाँकी क्षेत्रमा मेलम्चीका पाइप बिछ्याउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (KUkL)ले सहमति मागेको बताउँछन् ।
‘अहिले विद्युतको तार भूमिगत भइरहेको छ, अब केही क्षेत्रमा मेलम्चीले फेरि पाइप बिछ्याउन काम अघि बढाउन लागेको छ’, उनी भन्छन्, ‘यो अवस्थामा हामीले गरेका प्रयास निरर्थक नै हुनेछ ।’
बिजुली र खानेपानीका लाइन बिछ्याउन सहयोग गर्नैपर्ने भएकाले काठमाडौंका सडकहरु तत्कालै धुलो-हिलोविहीन हुन्छ भन्न नसकिने सडक डिभिजन कार्यालयको भनाइ छ ।

९०० किमी सडक खन्दै मेलम्ची

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (KUkL) अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालय (PId)ले चक्रपथभित्रै धुम्बाराहीदेखि कलंकीसम्मका विभिन्न क्षत्रेमा साढे तीन सय किमि पाइप बिछ्याउन बाँकी छ । चक्रपथबाहिर पनि चार सयदेखि पाँच सय किमिमा वितरण सञ्जाल विस्तारको काम गर्न योजना तयार छ ।
महाराजगञ्ज, सामाखुशी, कलंकी, पेप्सीकोला, गोठाटार, ठिमी, भक्तपुर, कीर्तिपुर, कपन, बौद्ध, चाबहिल, जोरपाटी, मण्डिखाटार लगायतका क्षेत्रमा पाइप बिछ्याउन सडक खन्नुपर्नेछ । पीआईडीका अनुसार चक्रपथभित्र पाइप बिछ्याउन थालेपछि उपत्यका फेरि एकपटक धुलोले ढाकिने निश्चित जस्तै छ ।

IMG 20210117 085859 508

यो कामको लाािग करिब ८ अर्ब खर्च गर्ने गरी ठेक्का लागिसकेको पीआईडीका प्रवक्ता उज्ज्वल प्रजापति बताउँछन् ।
उनका अनुसार सन्दरीजलदेखि चाबहिलसम्म वितरण लाइनको लागि नयाँ पाइप पनि बिछ्याउन लागिएको छ ।
पीआईडीले मुख्य क्षेत्रमा धुलो फैलिन नदिन विकल्पहरु पनि प्रयोग गर्ने बताएको छ । मुख्य चोकहरुमा नखनी ‘माइक्रोटनेलिङ’ अर्थात ‘ट्रेंकलेस’ प्रविधि प्रयोग गर्ने योजना छ । तर, सबै सडकमा यो महँगो प्रविधि उपयोग हुन सक्दैन ।

पीआईडीले पहिलो चरणमा चक्रपथभित्रका कुल १ हजार १२ घरधुरीमा नयाँ पाइपलाइन पुर्‍याउनेछ । अहिलेसम्म ८० हजार घरधुरीमा नयाँ पाइपलाइन पुर्‍याइसकिएको छ ।
‘चक्रपथभित्र वितरण लाइनको २० प्रतिशत पाइप बिछ्याउन बाँकी छ,’ प्रवक्ता प्रजापति भन्छन्, ‘सडक खनेपछि उचित व्यवस्थापन गर्ने र समयमै बनाउने पक्षमा ध्यान दिइने छ ।’

तार भूमिगत अस्तव्यस्त

अहिले विद्युतको तार भूमिगत गर्न पनि काठमाडौं उपत्यकाभित्र विभिन्न क्षेत्रमा सडक खनिँदैछ । तर, काम अस्तव्यस्त तरिकाले भएको भन्दै सडक विभाग नेपाल विद्युत प्राधिकरणसँग रुष्ट बनेको छ ।
प्राधिकरणले ‘होराइजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट तार अन्डर ग्राउन्ड गर्ने गरी सडक विभागसँग समझदारी गरेको थियो । यो प्रविधिमा करिब २ सय मिटरको अन्तरमा सडकमा खाल्डो खन्नुपर्छ । त्यस्तो खाल्डो १० दिनभित्र पुर्ने सहमति भएको थियो ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्मा विद्युत प्राधिकरणले समझदारीअनुसार काम नगरेको बताउँछन् । खनेको सडकमा छिटो कालोपत्रे गर्न आग्रह गरे पनि ढिलाइ हुँदा सडकमा धुलो जम्मा भएको उनको गुनासो छ ।

काठमाडौं सडक डिभिजन प्रमुख नेपाली पटक-पटक पत्राचार र छलफल गरेर प्राधिकरणलाई सम्झौता अनुसार खनिएको सडकमा कालोपत्रे गर्न भनिए पनि अटेरी भइरहेको बताउँछन् ।
‘उहाँहरुले प्रविधि प्रयोग गरिएकाले धेरै खन्न पर्दैन भन्नुभएको थियो, तर अहिले पूरै सडक खनिएको छ,’ उनी भन्छन्, ‘खनिएका खाल्डा समयमै नपुरिँदा स्थानीय र यात्रुलाई धुलो सास्ती भएको छ ।’

गत वर्षको फागुन ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका मुख्य सडकमा तार भूमिगत गर्ने परियोजनाको उद्घाटन गरेका थिए । प्राधिकरणले एसियाली विकास बैंक (एडीबी)को ऋण लगानीमा काठमाडौं जिल्लाको शहरी क्षेत्रभित्र ११ केभी लाइनको तार भूमिगत गरिरहेकोे छ ।

ललितपुर र भक्तपुरका शहरी क्षेत्रका लागि टेन्डर अह्वान भएर ठेकदार परिचालन हुन बाँकी छ ।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवाल खनिएका सडक मर्मत ढिलो भएको स्वीकार्छन् । सकेसम्म कम सडक खन्ने र खनेको भाग तुरुन्तै बनाउन ठेकदारलाई भनिरहेको नवलपुर टुडे लाई उनले बताए ।

सडक विस्तार पनि चुनौती

काठमाडौंमा करिब १० वर्षअघिबाट सुरु भएको सडक विस्तारको काम पनि धुलो र हिलो बढाउने कारक बनेको छ । २०७२ सालबाट सुरु भएको चाबहिल-साँखु सडकखण्ड अझै बनिसकेको छैन । सातदोबाटो-ढोलाहिटी सडक खण्ड पनि अलपत्र छ । गोदावरी जाने सडकको पनि विस्तारको काम अलपत्र छ ।

IMG 20210117 085912 272

कतिपय भित्री सडक विस्तारको लागि ठेक्का लागे पनि काम नहुँदा खाल्डोको साम्राज्य छ ।
चक्रपथको कलंकी-महाराजगञ्ज-धोबिखोला खण्ड विस्तार गर्न साइट क्लियर गर्ने काम गरिरहेको छ । सूर्यविनायक-धुलिखेल सडक खण्ड पनि विस्तारको लागि प्रक्रिया अघि बढेको छ । यी सडक खण्डका काम नसकिएसम्म बर्षायाममा हिलो र हिउँदमा धुलोमय हुने अवस्था रहेको विभागको भनाइ छ ।

उपत्यका धुलो र हिलोबाट मुक्त हुन अझै केही वर्ष लाग्ने स्पष्ट देखिएको छ । सवारी साधनहरुले एक ठाउँको धुलो र हिलो अर्को ठाउँसम्म पुर्‍याउने र वायुमण्डलमा फैलिने क्रम अझै तीन वर्षसम्म जारी रहन सक्ने सडक विभागका अधिकारीहरु बताउँछन् ।

IMG 20210117 085902 050

‘आवधिक मर्मत गरेर उपत्यकाका सडकलाई धेरै हदसम्म पुनर्जीवन दिएका छौं,’ विभागका महानिर्देशक शर्मा भन्छन्, ‘सडक खण्डहरु पुरानै हालतमा नफर्किउन् भनेर अधिकतम् प्रयत्न गरिरहन्छौं, तर यो हाम्रो मात्र हातमा छैन ।’

कमेन्टहरु