नारायणी र राप्तीमा सुरु जलपन्छी गणना, नदी प्रदूषणको मारमा परे चराचुरुंगी


चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्र तथा नारायणी र राप्ती नदीमा जलपन्छी गणना सुरु गरिएको छ ।
विश्वभर जनवरी ५ देखि जलपन्छी गणना गरिने भए पनि चितवन निकुञ्जमा भने विशेष कारणले १० जनवरीबाट गणना सुुरु गरिएको हो ।
बर्ड एजुकेशन सोसाइटीको अगुवाइमा भएको चरा गणनामा चितवनको भण्डारादेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणीसम्मका विभिन्न सिमसारमा जलपन्छी गणना गरिँदैछ । बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष रमेश चौधरीले विभिन्न नौजना चरा विज्ञलाई टोली नेताका रुपमा चयन गरेर ५० बढी गणकहरु चरा गणनामा सहभागी भएको बताए । विश्वव्यापीरुपमा गरिएको चरा गणनाको नेतृत्व ‘वेटल्यान्ड इन्टरनेशन’ले गर्ने भन्दै चौधरीले २७ देशका ६ हजार १०० स्थानमा एकैसाथ जलपछी गणना भइरहेको जानकारी दिए ।
विश्वमा पाइने १७५ प्रजातिका जलपछीमध्ये नेपालका सिमसार क्षेत्रमा १६० प्रजाति गणना गरिएको अध्यक्ष चौधरीले बताए । ‘जलपन्छीको विभिन्न १२ वटा प्रजाति संकटापन्नको सूचीमा परेका छन्’, उनले भने, ‘नेपालमा सारससहित तीनवटा प्रजाति संरक्षणको सूचीमा छन् ।’ जलकौवा, चखेवालगायत हाँस प्रजातिहरु नारायणी र राप्ती नदीमा बढी मात्रामा भेटिने गरेको भए पनि यस वर्ष यिनीहरुको संख्यामा समेत कमी आएको उनको भनाइ छ ।
बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष एवम् चराविज्ञ बासु बिडारीले नदीका जलाधार क्षेत्रमा प्रदूषण बढ्दै जाँदा जलपन्छीको संख्यामा कमी आएको बताए । ‘शहरीकरणसँगै हाम्रा नदीहरु प्रदूषित बन्दै गइरहेका छन्’, उनले भने, ‘जसको प्रत्यक्ष असर जलपन्छीहरुमा परेको छ ।’ नदीहरुमा बढ्दै गएको प्रदूषण न्यूनीकरण गर्न नसकेको अवस्थामा नेपालबाटै जलपन्छीहरु लोप हुने खतरा बढ्दै गएको भन्दै विडारीले बेलैमा सचेत हुनुपर्ने बताए ।
आइतबार र सोमबार गरिएको जलपन्छी गणनामा चखेवा, जलकौवा, गडवाल, कुट, किङफिसर, बकुल्ला, गरुड, भुँडीफोर गरुड, कालो गरुड, स्युइरो ठुँडे हाँस आदि प्रजाति भेटिएको चराविज्ञ गिरीले बताए । विश्वव्यापीरुपमा गरिने गणनानुसार आउने तथ्याङ्कले जलपक्षीको संरक्षणका लागि रणनीति तयार गर्न सहयोग पुग्ने उनको विश्वास छ ।























