Opens in a new tab

विश्व

नेटो अहिले जसरी एकढिक्का कहिल्यै थिएन : बाइडेन

नवलपुर टुडे
२०७८ चैत्र ११ | बिहान ०७:१२ बजे

काठमाडौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसले गरेको आक्रमणविरुद्ध पश्चिमा सैन्य गठबन्धन एकढिक्का रहेको बताएका छन् ।

नेटो इतिहासमै सबैभन्दा बलियो रुपमा एकतावद्ध रहेको बाइडेनको भनाइ छ । बसेल्समा भएको नेटो बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई गरिरहेको हालको रक्षात्मक तथा मानवीय सहयोगका लागि मात्रै नभएर युद्धले गरेको विनाशबाट उठ्नका लागि पनि एकीकृत सहयोग कायम राख्ने बताए ।सम्बोधनको क्रममा एनले युक्रेनका लागि दुई अर्ब अमेरिकी डलर बराबरको सैन्य सहयोगको घोषणा गरे ।

यस्तै युद्धबाट प्रभावित भएका युक्रेनीहरुका लागि एक अर्ब अमेरिकी डलर बराबरको मानवीय सहयोग गर्ने पनि बाइडेनले घोषणा गरेका छन् । युक्रेन र रुसबीच भइरहेको वार्ताका सम्बन्धमा टिप्पणी गर्दै कस्तो निर्णय लिने भन्ने अधिकार किएभसँग रहेको बताए । रुसले युक्रेनी भूमिमा आफू समर्थित पृथकतावादीले गरेको कब्जालाई आधिकारिकता प्रदान गर्न र ‘छुट्टीन चाहेका क्षेत्र’ को स्वतन्त्रता स्वीकार गर्न माग गरेको छ ।

तर युक्रेनले आफ्नो भूमि कुनै पनि हालतमा नदिने बताउँदै आएको छ । रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गरेमा अमेरिकाले त्यसको गम्भीर जवाफ दिने चेतावनी पनि बाइडेनले दिएका छन् । बाइडेनले रुसलाई जी–२० समूहबाट हटाउनु पर्ने पनि बताए । उनले युक्रेन जी–२० बैठकमा सामेल हुन पाउनु पर्ने माग गरे । बाइडेनले युक्रेन युद्धका सम्बन्धमा आफ्नो देशले लिएको वैदेशिक नीतिको पनि बचाउ गरेका छन् ।

पत्रकारले रुसमाथि लगाइएको प्रतिबन्धले उसलाई युद्ध रोक्न बाध्य नपारेको भनेर प्रश्न गरेका थिए । त्यसको जवाफमा प्रतिबन्धले तत्काल युद्ध नरोके पनि कायम राखिरहँदा रुस बाध्य हुँदै जाने आफ्नो विश्वास रहेको बताए । युक्रेनमाथि रुसी आक्रमणलाई लिएर चीनका सम्बन्धमा पनि बाइडेनले टिप्पणी गरेका छन् । कुनै पनि हिसाबले युक्रेन युद्धमा रुसलाई सहयोग गरेमा चीनले गम्भीर परिणामको सामना गर्नु पर्ने आफूले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्पष्ट पारेको बाइडेनले बताएका छन् ।

कमेन्टहरु