प्रचण्डमाथि ढुँगेलकाे आक्राेस


प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय नेकपामा लागेका पूर्व माओवादी नेता बालकृष्ण ढुंगेलले जनयुद्धका सहयात्रीहरूको रक्षा गर्न नसकेको भन्दै अर्को खेमाको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति आक्रोश व्यक्त गरेका छन् ।
ओखलढुंगामा ओलीपक्षीय नेकपाले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ढुंगेलले आफूलाई प्रहरीले पक्राउ गर्दा प्रचण्डले एउटा विज्ञप्ति समेत निकाल्न नसकेको भन्दै आक्रोश व्यक्त गरे ।
शेरबहादुर देउवाको सरकारले मलाई समाएर लैजाँदैगर्दा प्रचण्डले एउटा विज्ञप्ति निकाल्ने औकात देखाउन सक्नुभएन,’ ढुंगेलले भने, ‘म जेल जाँदै गर्दा प्रचण्डले वक्तव्य निकाल्न नसक्ने किन होला ? ओखलढुंगेली जनतालाई जवाफ चाहिएको छ ।’
प्रचण्डले आफू र आफ्नो परिवारको रक्षालाई मात्र प्राथमिकतामा राखेको उनको आरोप थियो ।
‘शान्ति सम्झौताको हस्ताक्षरकर्ता प्रचण्ड, जनसत्ताको नेतृत्वकर्ता प्रचण्ड, त्यो प्रचण्डलाई सोधेर मलाई गिरफ्तार गरियो होला कि नसोधिकन ? नसोधिकन गिरफ्तार गरेको हो भने त्यस्तो प्रचण्ड के काम ? यदि सोधेर गिरफ्तार गरेको हो भने हुन्न भन्न पनि नसक्ने ? प्रचण्डले हाम्रो जीवन रक्षा नगरेर कसको जीवनको रक्षा गर्नुहुन्छ ? आफ्नो र परिवारको मात्र ?’ ढुंगेलले प्रश्न गरे ।
उनले जनताको रगत, त्याग र बलिदानबाट जन्मिएको प्रचण्डलाई जोगाउन नसकेकोमा आफूलाई पश्चाताप लागेको बताए ।
‘जनताको रगत, त्याग र बलिदानबाट जन्मिएको लिडरलाई जोगाउन नसकेकोमा मलाई चिन्ता छ,’ ढुंगेलले भने, ‘रुक्माङ्गत कटुवालले लखेट्न शुरू गरेका प्रचण्डको कहाँ पुगेर अवशान हुनुहुन्छ, मलाई चिन्ता लाग्छ ।’
उनले हिजो प्रचण्डले ओलीलाई नेता मानेको जिकर पनि गरे ।
‘उहाँले हिजो कमरेड केपी ओलीलाई नेता मानेर आउनुभएको हो । अध्यक्ष भनेर हुँदैन, एक नम्बर र दुई नम्बर भन्ने हुन्छ । उहाँ दुई नम्बर अध्यक्ष हो । दुई नम्बर भनेको उपाध्यक्षसरह हो,’ ढुंगेलले भने ।
जनयुद्धकालमा ओखलढुंगाका उज्जन श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ढुंगेल लामो समय जेल बसेर केही महिनाअघि रिहा भएका हुन् ।























