क्रिसमस दिवस,इसाई समुदाय र धर्मपरिबर्तन काे मुद्दा


आज डिसेम्बर २५, अर्थात् क्रिसमस दिवसको दिन हो । क्रिसमस एउटा उत्सव हो, जसलाई संसारका झण्डै १ तिहाई जनसंख्या ओगट्ने इसाई धर्मावलम्बीहरू तथा अरू समुदायका मानिसहरूले पनि बडो धुमधामका साथ मनाउने गर्दछन् । संसारका ज्योति भनेर चिनिने जिसस क्राइस्टको जन्मदिनको रूपमा यो उत्सवलाई मनाउने गरिन्छ । इसाईलगायत सबै समुदायका मानिसहरूले बडो हर्षोल्लासका साथ मनाउने भएकाले पछिल्लो समय नेपालमा पनि यो पर्वको आँगन फराकिलो बन्दै गएको छ ।
यसप्रकारका पर्वहरूले विभाजन होइन, भाइचारा ल्याउने काम गर्दछन् । एउटा समुदायको पर्वलाई अर्को समुदायले सम्मानित व्यवहार गर्दै जाँदा यसले सामाजिक सौहार्दतालाई थप बलियो पार्दछ ।
राष्ट्र निर्माणमा गरेका तमाम योगदानहरूको बावजूद नेपाली इसाई समुदाय आज विवादको घेराबाट बाहिर छैन । एउटा इसाई धर्मावलम्बी हुँदा हुँदै पनि मलाई यति लेख्न असजिलो लाग्दैन कि सामाजिक सौहार्दता निर्माणको सम्बन्धमा हामीले अरूबाट सिक्नुपर्ने ठाउँहरू प्रशस्तै छन् ।
जबर्जस्ती गरेर वा कुनै प्रकारको प्रलोभनमा पारेर कसैले कसैको धर्म वा आस्था परिवर्तन गराउन मिल्दैन भन्ने कुरा अकाट्य सत्य हो । त्यसो गर्नु कानुनी हिसावले त दण्डनीय हुन्छ नै, मानवीय हिसावले पनि अक्षम्य अपराध हुन जान्छ । अरू मान्छेको कमजोरीको फाइदा उठाउनु भनेको यो संसारमा गर्न मिल्ने मध्येको सबैभन्दा ठूलो पाप हो । धर्मको सवालमा कसैले पनि जबर्जस्ती गर्न हुँदैन । धर्मपरिवर्तन गर्नका लागि गरिने जबर्जस्ती र धर्मपरिवर्तन नगर्नका लागि गरिने जबर्जस्ती दुवै गलत हुन् । धर्म वा आस्था भनेको व्यक्तिको नितान्त निजी विषय हो । धर्मपरिवर्तनलाई एउटा मात्रै बहाना मान्य हुन्छ, र त्यो भनेको व्यक्तिको आफ्नै इच्छा हो ।
व्यक्तिको लागि सबैभन्दा महत्वपूर्ण कुरा उसको व्यक्तिगत स्वतन्त्रताको अधिकार हो । व्यक्तिगत स्वतन्त्रताको अधिकार खोसिएको व्यक्ति कदापि खुसी हुन सक्दैन । जतिसुकै असल ठाउँमा पुगेको भए पनि स्वतन्त्रताको अधिकार गुमाएको व्यक्ति सुनको पिंजडामा थुनिएको सुगाजस्तै बन्छ ।
यही व्यक्तिगत स्वतन्त्रताको अधिकारमा टेकेर आज कोही डाक्टर बनेका छन्, कोही शिक्षक बनेका छन्, कोही देशमै काम गर्दैछन् अनि कोही विदेशमा । म निलो रङको झोला बोक्छु भन्दैमा तपाईंले पनि यस्तै रङको बोक्नुपर्छ भनेर मैले तपाईंलाई दवाव दिन मिल्दैन । त्यो तपाईं मात्रै हो, जसले तपाईंका व्यक्तिगत कुराहरूको निर्णय गर्ने अधिकार राख्नुहुन्छ । अनि, त्यो म मात्रै हुँ, जसले मेरा व्यक्तिगत कुराहरूको निर्णय गर्ने अधिकार राख्छु ।
सन्धी ऐन २०४७ (वि. सं.) अनुसार नेपालले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय घोषणापत्र तथा सन्धीहरू मिच्ने गरी आएका सबै कानुन स्वतः खारेज हुन्छन् । नेपालले मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय घोषणापत्र १९४८ र नागरिक तथा राजनीतिक अधिकारको अन्तर्राष्ट्रिय घोषणापत्र १९६६ मा हस्ताक्षर गरेको छ । ती दुवै घोषणापत्रहरूले व्यक्तिले चाहेको अवस्थामा निस्सन्देह धर्मपरिवर्तन गर्न सक्ने अधिकारको सुनिश्चतता गरेका छन् । दुवै घोषणापत्रहरूको धारा १८ ले एक्लै वा सामुहिक रूपमा, गोप्य वा खुल्ला रूपमा आफ्नो आस्था र विश्वासको प्रचारप्रसार गर्न पाउने हक हरेक व्यक्तिमा रहने स्पष्ट गरेको छ । प्रजातन्त्रमा हरेक व्यक्तिलाई आफ्नो बारेमा निर्णय गर्न पाउने अधिकार हुन्छ ।
घरघरमा पुगेर आक्रामक तरिकाले धार्मिक ज्ञान बाँड्दै हिंड्ने र आस्था परिवर्तन गरी आफूजस्तै बन्न उक्साउने व्यक्तिहरूको सम्बन्धमा आम जनबुझाइ र वास्तविकता धेरै फरक छ ।
इसाई झैं देखिने केही अनौठा समूहको प्रवेश नेपालमा पनि भएको छ । चिटिक्क कपडा लगाएर घरघर डुल्ने उनीहरूले पनि बाइबल नै पढ्ने भएकाले उनीहरूलाई नेपालका सम्पूर्ण इसाईहरूको प्रतिनिधि सम्झिने गरिन्छ । वास्तवमा त्यो गलत हो । उनीहरूले गैह्र इसाईलाई भन्दा धेरै इसाईहरूलाई नै हैरान पार्ने काम गर्दै आएका छन् । बाइबलका आधारभूत मान्यताहरूलाई नै स्वीकार नगर्ने भएकाले वास्तवमा उनीहरू इसाईमत भित्रका सदस्यहरू होइनन् । विश्व इसाई समुदायले उनीहरूलाई आफूभित्रको मान्दैन ।
हामी ख्रीष्टियानहरू यो देशका दुस्मनहरू होइनौं । हामी लडेको नेपाल होइन, बढेको नेपाल चाहन्छौं । मातृभूमिप्रतिको हाम्रो कर्तव्य हामीले भूलेका छैनौं । यही भूमिमा जन्मेर, यही भूमिमा हुर्केर, आफू जन्मेको भूमिप्रति पूर्ण बफादार रहँदै राज्यलाई कर तिरेर देशनिर्माणको काममा सधैं अग्रणी भूमिका निर्वाह गर्ने इसाईहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले दिएको आफ्नो आस्था आफै छान्न पाउने अधिकारको प्रयोग गर्दैमा उनीहरूभित्र राष्ट्रवादको खडेरी देख्न मिल्दैन ।
गल्ती मान्छेले गर्छ, हामी पनि मान्छे हौँ र हामीबाट पनि कयौं भूलहरू भएका हुनसक्छन् । कतिपय अवास्थामा जानेर वा नजानेर हाम्रा कदमहरू गलत भएका पनि हुनसक्छन् । क्रिसमसको अवसरमा हामी हाम्रो समाजलाई अनुरोध गर्दछौं, हाम्रा भूल गल्तीहरू हामीलाई देखाउनुहोस्, हामी सुध्रिन तयार छौं, हामी सच्चिन तयार छौँ । बाइबलले घृणा होइन, प्रेम छर्न सिकाएको छ । त्यही बाइबल पढ्ने मानिसहरू भएकाले हामी कसैलाई पनि घृणा गर्दैनौं । यदि कुनै ख्रीष्टियानले अरूप्रति घृणा ओकलेको छ भने त्यो बाइबल नबुझ्नुको परिणाम हो ।
सबैलाई क्रिसमसको शुभकामना !























