नेकपा चितवनका नेता पोखरेल भन्छन्: संविधानको मस्यौंदाकार म पनि हो, संसद विघटन हुनै सक्दैन


नेकपा चितवनका नेता तथा पूर्वसांसद कृष्णभक्त पोखरेलले आफू संविधानको मस्यौंदाकार मध्ये एक भएकोले अहिले संसद विघटन हुनै नसक्ने बताएका छन् ।
काठमाडौँको रिपोटर्स क्लबमा आज आयोजित साक्षात्कारमा माधव नेपाल–प्रचण्ड समूहका नेता पोखरेलले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नै नराखी संविधान बनाइएको दाबी गरे । उनले अहिले संसद विघटन गर्नु गैरसंवैधानिक भएको जीकिर गरे । उनले प्रधानमन्त्री ओलीले ल्याएको संसद विघटन प्रस्तावअनुसार संसद विघटन हुनै नसक्ने बताए ।
उनले भने,‘आशा गरौं सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई बदर गर्ने छ, प्रचण्ड र माधवको नेकपा आधिकारिक हो जस्तो लाग्छ मलाई ।’ कुनै पनि अर्थमा संसद विघटनको प्रावधान संविधानमा नभएको उनको जीकिर छ । उनले प्रधानमन्त्री ओलीले आफ्नो पार्टीसँग छलफल नै नगरी संसद विघटन गरेको दुःखेसो पोखे । आफू वर्तमान संविधानको मस्यौदाकारमध्ये एक भएको सुनाउँदै पोखरेलले संसदीय अस्थिरतालाई मध्यनजर गर्दै संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकारको व्यवस्था संविधानमा नराखेको पनि सुनाए ।
उनले ओली पक्षधरले बोलाएको केन्द्रीय कमिटी बैठक वैधानिक नभएको जीकिर गरे । दाहाल नेपालले बोलाएको केन्द्रीय कमिटी बैठकमा ३१५ जना सदस्यहरु उपस्थिति भएकोले यो नै आधिकारिक पार्टी र निर्णय भएको उनको भनाइ छ । उनले को सँग बहुमत छ ? भन्ने कुरा निर्वाचन आयोगले निक्र्यौल गर्नसक्ने जीकिर गरे ।























